अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाउने कडेँल नेकपाबाट निलम्बन

चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने विरुद्ध नेकपाले एक्सन लिएको छ ।
बारमा डोजर चलाएर भत्काउने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरेको छ । नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले आज वक्तव्य जारी गर्दै उनलाई सदस्यबाट निलम्वन गरी कारवाही गरिएको जानकारी दिएका छन् । अर्का सदस्य भैरव बस्ताकोटीलाई भने २ महिनाको लागि निलम्बन गरिएको छ ।
प्रकाश कडेँललाई प्रहरीले गयराति नै प्रक्राउ गरेको छ । बुधबार कडेँलको नेतृत्वमा गएको समूहले डोजर लगाएर बार भत्काएको थियो ।
यसैबीच रङ्गशाला निर्माणस्थलमा काम गर्ने वातावरण सिर्जना नभईन्जेल निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।