जाँदाजाँदै डिएसपी विष्ट भन्छन् – सुरुमै हतोत्साहित बनाउने प्रयास भयो
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टलाई विभिन्न संघ संस्थाले विदाई गर्ने क्रम चलिरहेको छ । १४ महिनाको बिर्तामोड बसाईपछि डिएसपी विष्ट हेडक्वाटर जाँदैछन् । बिर्तामोडको कमाण्ड सम्हाल्न डिएसपी विजय श्रेष्ठ आउदैछन् ।
झापा जिल्ला मै धेरै कामको चाप हुने इलाका प्रहरी कार्यालय अनारमनीमा डिएसपी विष्टले आफ्नो कार्यकाल ठिकै ढंगले पुरा भएको प्रतिक्रिया दिएका छन् । सोमवार उनलाई बिर्तामोड नगरपालिकाले करुवा सहित विदाई गरेको छ ।
विदाईको क्रममा डिएसपी विष्टले बिर्तामोड बसाईको बारेमा सुनाए । बिर्तामोडमा आउँदा सुरुमा हतोत्साहित बनाउने प्रयास भएको स्मरण गरे । कोशी प्रदेशमा पहिलो पटक पोस्टिङ भएर बिर्तामोड आएको बताउदै उनले बिर्तामोडलाई चुनौतिपूर्ण मानेको बताए । सँगैका ब्याजीहरुले नेतृत्व गरिसकेको बिर्तामोडका बारेमा सुन्न त सुनेकै थिए, विष्ट भन्छन् – बिर्तामोड आउँना साथ हतोत्साहित बनाउने प्रयास नभएको होइन । यहाँ डिएसपी २ महिना, ६ महिना टिक्न गाह्रो छ भनियो ।
प्रहरी सेवा विभिन्न इकाईमा काम गरिसकेका विष्टले विगतका कतिपय घटना सुनाएर निराश बनाउन खोजेपनि कामलाई निरन्तरता दिएको सुनाए । नगर प्रमुखको कक्षमा बोल्दै डिएसपी विष्टले १४ महिनाको बिर्तामोड बसाईमा कसैको पनि दवावमा काम गर्नु नपरेको बताए । स्थानीय सरकारबाट धेरै नै सहयोगी भूमिका प्राप्त भएको बताए ।
यहाँ बुझ्ने मान्छेहरु नै पाएको बताउँदै बिर्तामोडमा अपराधिक घटनाहरु घट्दै गइरहेको जानकारी दिए । अघिल्लो वर्षको तुलनामा अपराधिक घटनामा कमि आएको छ, उनले थपे – यो सबैको प्रयासबाट संभव भएको हो ।
आफ्नो कार्यकालमा भएका घटनाहरु अपवाद बाहेक अनुसन्धान सकेको सुनाउदै उनले बिर्तामोड जिल्लामै धेरै चलहपहल हुने ठाउँ भएको बताए । जिल्लामा भन्दा इलाकामा धेरै मुद्धामामिलिा हुने गरेको सुनाए ।
विभिन्न घटनाहरुका सन्दर्भमा बिर्तामोड प्रहरीले निर्वाह गरेको भूमिका सन्तोषजनक रहे पनि लागुऔषध नियन्त्रणमा प्रहरीले काम गर्न नसकेको आरोप छ । लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन नसकेको टिप्पणी हुने गरेको छ । कतियले भने, प्रहरीलाई समेत अभियान सञ्चालनमा सहयोग नभएको प्रतिक्रिया दिने गरेका छन् ।