तटबन्धनमा अवरोध गरेको भन्दै झापाको कावा अध्यक्ष थपलियाले काटिदिन् मकैं
बिर्तामोड । झापा गाउँपालिकामा तटवन्धनमा अवरोध गर्ने किसानको मकै स्थानीयबासीले काटेका छन् । गाउँपालिकाको कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले समेत अवरोध गर्ने किसानको मकै काटिदिएकी छन् । उनले किसानलाई हटाउन भन्दा पनि अटेरी गरेपछि मकैं काटिदिएको स्वीकार गरिन् ।
झापा गाउँपालिका वडा नं. २ स्थित टप्पुमा स्थानीय किसान कुमार लाल ठाकुरले लगाएको मकैबालीले नदी तटबन्धनमा अवरोध गरेको थपलियाको भनाई छ । पटक–पटक ठाउँ खाली गर्न भन्दा पनि अटेरी गरेपछि आफै लागेर मकै काटिदिएको कावा अध्यक्ष थपलियाले बताइन् । मकैं काँचै छ भन्दै किसानले हटाउन अटेर गरेका थिए ।
तटबन्धनका क्रममा किसानले सहयोग नगर्दा समस्या भएको स्थानीयको भनाई छ । सो क्षेत्रमा समयमै तटबन्धन नगर्दा ८ सय घर बाढीबाट प्रभावित हुने थपलियाले जानकारी दिइन् । मकैं हटाएपछि तटबन्धन गर्ने काम अघि बढ्छ, उनले भनिन् – सिमलबाडी र सुँगाबथान जोगाउन बाँध बाँध्ने काम चलिरहेको छ ।
किसानलाई मकैं हटाउन गाउँपालिकाले गाडि समेत उपलब्ध गराउने भन्दा पनि अटेर गरेको बताइएको छ ।
वडा नं. २ का अध्यक्ष हिमाल कुमार चम्लागाईले मकै हटाउन सहयोग गरेको प्रतिक्रिया दिए । तटबन्धनमा अप्ठ्यारो भएका कारण मकै हटाइएको उनको भनाई छ । वडा नं. १ र २ को आधा भाग डुवान हुने भएको हुँदा बेलैमा तटबन्धनको काम थालिएको जानकारी दिए ।
स्थानीय किसान ठाकुरले मकैं हटाउन १० दिनको समय माग्दा नपाएको प्रतिक्रिया दिए । मकैं काँचो थियो, १० दिनभित्र पाक्ने थियो – उनल भने, १ कठ्ठाको मकैं सबै मिलेर काटिदिए । अरु काट्नु भनेका छन् ।