प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ । अग्रज पत्रकार, समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो । नयाँ पुस्तालाई अग्रजहरुबाट पे्ररणा प्रदान गर्ने , अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
प्रेस चौतारी झापाले ३÷३ महिनामा जिल्लाका अग्रजहरुको अनुभव सुन्ने कार्ययोजना बमोजिम आज पहिलो अग्रजको रुपमा खतिवडाको अनुभव सुनेको झापा शाखाका अध्यक्ष प्रदिप परियारले जानकारी दिनुभयो ।
अग्रज पत्रकार खतिवडा कञ्चनजंगा एफएमबाट प्रशारण हुने समवेदना कार्यक्रमका प्रस्तोता हुनुहुन्छ । समवेदना कार्यक्रमको प्रस्तोताका रुपमा पहिचान बनाउन सफल उहाँले १८ वर्ष उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बिबिसीले समेत विश्व मै फरक किसिमको कार्यक्रम (समवेदना) सञ्चालन गरेको भन्दै खोजमुलक समाचार प्रकाशन गरेको खतिवडाले अनुभव सुनाउनुभयो ।
तीन दशक प्राध्यापन पेशामा सक्रिय खतिवडाले पत्रकारितासँगको आफ्नो सम्बन्ध, समवेदना कार्यक्रम सञ्चालनका स्मरणहरु सुनाउनु भएको छ । जिवित मान्छेहरुको समेत निधन भएको खवर समवेदना मार्फत प्रशारण भएका घटना र त्यसपछि आइपरेका समस्याहरुको बारेमा समेत जानकारी गराउनुभयो । ती घटनाहरुका कारण सूचनाको जाँच गर्नुपर्ने कुरामा आफू सचेत भएको बताउनुभयो ।
झापाको शान्तिनगर क्षेत्र, प्राध्यापन पेशा र मिडिया क्षेत्रसँग जोडिएको विषयहरुलाई सारमा राख्नु भएका खतिवडाले दुई वर्षदेखि समवेदनाहरु प्रशारण गर्न नपाएकोमा दुख व्यक्त गर्नुभएको छ । उहाँले समवेदना कार्यक्रम कै कारण सामाजिक रुपमा सम्बन्धहरु विस्तार भएको, मानसम्मान पाएको बताउनुभयो ।
मिडिया क्षेत्रमा मेहनत र लगनशिलताको आवश्यकता भएको बताउँदै नयाँ पुस्ताहरुले मिडिया मार्फत समाजलाई योगदान गर्न आएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
पत्रकार महासंघको निर्वाचनमा मात्रै मलाई बोलाइन्छ, अन्य कार्यक्रमहरुमा वास्ता छैन , उहाँले थप्नुभयो – प्रेस चौतारीको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी भएको छु । उहाँले चौतारीले सुरु गरेको अग्रजलाई सुन्ने कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिनुभयो ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानले अग्रजलाई सुन्ने कार्यक्रमले पुराना पत्रकारहरुको सिकाई तथा अनुभवहरु नयाँ पत्रकारले प्रत्यक्ष रुपमा सुन्न पाएको बताउनुभयो । उहाँले यो कार्यक्रम मार्फत पुस्ताबीचको दुरी घटाउन मद्दत पुग्ने बताउनु भएको छ । अग्रज पत्रकार खतिवडाको अनुभवले नयाँ पुस्तालाई प्रेरणा मिल्ने न्यौपानेको धारणा थियो ।