मादक पदार्थ सेवन गरेर ममाथि अभद्र व्यवहार भयो : जलवर्षा राजवंशी
जलबर्षा राजवंशी (चौधरी)
उपप्रमुख– गौरादह नगरपालिका, झापा
आदरणीय नगरवासी आमाबुबा,दाजुभाई,दिदीबहिनीहरु सम्पुर्णमा मेरो हार्दिक नमस्कार ।
अमुल्य मत दिएर उपप्रमुख बनाउनु हुने मेरा नगरवासीहरुमा केही कुरा राख्न मन लाग्यो । मलाई थाहा छ २०७९ ज्येष्ठ १२ गते गौरादहको विभिन्न आर्थिक, सामाजिक, राजनीति क्षेत्र, भुगोल,वर्ग,लिङ्ग,समुदायहरुको सन्तुलित बिकासको निम्ति,सभ्य र सुशासनको निम्ति, मैले सपथ खाएर उपप्रमुखको पदभार ग्रहण गरेकी छु । तेसै दिनदेखि यहाँहरुको अमुल्य मतलाई शिरोधर गर्दै आजसम्म मेरो क्षमताले,वुद्धि विवेकले भ्याएसम्म इमान्दारी साथ मेरो जिम्मेवारीमा कहि कतै, कति पनि नियत नबिगारी, बेइमानी नगरी कर्तब्य निष्ठा भएर ऐन कानुनको पालना गरि काम गरिरहेकोछु ।
गौरादहको बिकासको निम्ति चाहे त्यो माथिल्लो सरकारसँग श्रोत माग्ने कुरामा पहल गर्ने कुरामा होस् या अन्य संघ संस्थाहरुसँग या जनसमुदायहरुसँग सहकार्य र समन्वय गरेर काम गर्ने कुरामा म निरन्तर लागिरहेको छु । मेरो प्रयास जारी छ ।
मेरो कार्यकालमध्ये ३ बर्षको अन्तिममा यानिकी मध्यावधि अवस्थामा छु । मलाई जहाँसम्म लाग्छ मैले जनताको सेवा गर्ने कुरामा होस या बिकासको काममा होस नियतबस मैले कहिकतै तनिक पनि कन्जुस्याइँ नगरी आफ्नो जिम्मेवारी प्रति लगनशील र जवाफदेही भएर काम गरेको जस्तो लाग्छ र निरन्तर जारी रहनेछ ।
किनकी नगरवासीहरुको सेवा गर्न मैले मेरो सौभाग्यले पाएकी छु, यहाँहरु नगरवासीले दिनु भएको एक ठूलो अवसर पाएकी छु । मलाई राम्रोसँग थाहा छ यो अवसर जो कोहिले पाउदैन । त्यसैले यसलाई मैले आत्मीय साथ, हार्दिकताका साथ मेरो जिम्मेवारी प्रति इमानदारीका साथ जवाफदेही भएर लागेकी छु ।
संविधानले दिएको, स्थानीय सरकार संचालन ऐन अनुसार, संघीय र प्रदेशको कार्यविधि अनुसार उपप्रमुख २०–२२ वटा समितिको संयोजक भएर काम गर्नुपर्ने हुन्छ । पाएको जिम्मेवारी अनुसार संघ, प्रदेश र विभिन्न संघ संस्थाहरुले दिएको तालिम गोष्ठीमा उपप्रमुख पुग्नुपर्ने हुन्छ । साथै म नेपाल नगरपालिका संघ कोशी प्रदेश समितिको सदस्य नगरपालिकाको हित संरक्षणको निम्ति मैले समितिले १४ वटै जिल्लामध्ये जुन जिल्लामा मिटिङ्ग राखिएको हुन्छ त्यहाँ म पुग्नुपर्ने हुन्छ । कार्यलयकै काम विशेषले विभिन्न शाखालाई गाडिको सहयोग चाहिन्छ र मैले सहयोग गर्नुपर्ने हुन्छ ।
आफ्नै नगरका नगरवासीहरुले उपप्रमुख भएकै कारण विभिन्न सामाजिक कार्यमा निमन्त्रणा गर्दा मैले पुग्नु पर्ने हुन्छ । मरिमराउमा पुग्नुपर्ने हुन्छ । हामी जनताको प्रतिनिधि जनताको हरेक दुख सुखमा हामी सरिक हुनुपर्छ । हामी जनप्रतिनिधिको १० देखि ०५ बजेको समय हुदैन । सार्वजनिक बिदा होस या रातिको समय होस, कहिल्यै पनि हामीलाई छुट हुदैन भन्ने यहाँहरुलाई राम्रोसँग थाहा छ ।
तर अहिलेसम्म गौरादहको नगर उपप्रमुखको रुपमा मलाई स्वीकार गर्न नसकेका केही तत्वहरुले अहिलेसम्म मेरो जिम्मेवारी प्रति कहिंकतै कमि कमजोरी नपाएपछि सानो सानो कुराको पछि, सवारी साधन गाडिको पछि नियोजित ढंगले मलाई खुइल्याउन, मेरो बदनाम गर्न लागेका छन् । यहाँहरुलाई अवगत नै छ अस्ति बैशाख ७ गते बेलुका कार्य व्यस्तताको कारण जनताले बोलाएको निम्तो मान्ने क्रममा आफ्नै नगरपालिकाभित्र मलाई असभ्य र अभद्र रुपमा मादक पदार्थ सेवन गरेर म सँग अराजक शैलिमा प्रस्तुत भएपछि मैले आफ्नो आत्मरक्षाको लागि मलाई आबेसमा आउन बाध्य बनाएको छ । आज यो अपमान यो अराजक व्यवहार एक उपप्रमुखमाथि मात्र गरेको होइन सम्पुर्ण मतदाता नगरवासीहरु माथि गरेको अपमान हो । यसको म घोर भत्सर्ना गर्दछु ।
हाम्रो नगरवासी आदरणीय महानुभावहरुलाई अनुरोध गर्न चाहन्छु । यहाँहरुले मलाई बनाउनु भएको उपप्रमुख,दिनु भएको जिम्मेवारी प्रति म आभारी छु । कृतज्ञ छु ,जवाफदेही छु । यो नगरको समग्र बिकास र सुशासनको निम्ति आउँदा दिनहरुमा यहाँको साथ सहयोग र सकारात्मक सल्लाह सुझावको मार्गनिर्देशनको अपेक्षा गर्दछु । साथै यहाँहरुले दिनु भएको माया ममता, गर्नु भएको विश्वासको मतलाई शिरोधर गर्दै बिकास, सुशासन र सामाजिक न्यायको लागि जहिल्यै पनि अडिक भएर लाग्नेछु भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।