बिर्तामोडका ग्यास डेलिभरी ब्वाई भन्छन् – अब विदेश नजाने सोचें
बिर्तामोड । युवा उमेरमा विदेशको मोह प्रायः सबैलाई हुने गरेको छ । भनेजस्तो आम्दानी र सुखसयल नभए विदेश गइहाल्ने नेपाली परम्परालाई बिर्तामोडका गोविन्द शिवाकोटीले भने तोड्ने प्रयास गरेका छन् । विदेशको सपना नदेख्ने युवाहरुको लाइनमा थपिएका शिवाकोटी अहिले दैनिक रुपमा ग्यास सिलिण्डरको होम डेलिभरी गर्दै आएका छन् ।
झापाको बिर्तामाड क्षेत्रमा सधैं व्यस्त देखिने शिवाकोटी हरेक दिन डेलिभरीमा व्यस्त भेटिन्छन् । ग्यास सिलिण्डर डेलिभरी व्वाईका रुपमा चिनिएका शिवाकोटी दुई वर्षदेखि यहि काममा क्रियाशिल रहेको बताउँछन् । साइकलमा ग्यास बोकेको दिनचर्या दुई वर्ष पुरा भयो, दुई साइडमा ग्यासका सिलिण्डर बोकेर दौडिइरहने शिवाकोटी भन्छन्’, अब विदेश जादिन । यहि राम्रो कमाई भइरहेको छ ।
कनकाई रोडमा आफन्तले काम लगाइदिएको दुई वर्षपछि मेची ग्यासको डेलिभरी सुरु गरेको उनको भनाई छ । फोनबाट उनलाई ग्यास माग्ने गरेका छन् । ग्यास मागे अनुसार पालैपालो पुराउने गरेको शिवाकोटी बताउँछन् । विदेश जान हातमा राम्रो सीप नभए अध्ययन चाहिने रहेछ– उनी भन्छन्, हामी जस्ता पढाई नभएकाहरुलाई यतै फाइदा छ ।
दैनिक २० देखि ३० वटा सिलिण्डर पुराउदै आएका उनले अधिकतम ५० वटासम्म सिलिण्डर पुराएको जानकारी दिए ।
ग्यास बोकेर मासिक ५० हजारसम्म कमाउन सकिने बताउँदै उनले विदेशको कमाई स्वदेशमै भइरहेको बताए । काम गरेर खान लाज मान्न नहुने उनको धारणा छ । मेहनत गरेर खान सकिन्छ, चोरेर ढाँटेर पो खान हुदैन । विदेशमा सबैले राम्रै काम गरेका छन् र ? उनी थप्छन् – मेरो कस्टमर राम्रो हुनुहुनछ । कतिले तीन तलामागि पुराउँदा २÷३ सय रुपैयाँ पनि दिनुहुन्छ । मैले लिने ५० रुपैयाँ हो, तर धेरैले थपेर नै दिनुहुन्छ ।
शिवाकोटीले विदेश जाने सोच बनाएका छैनन् । दैनिक ग्यास डेलिभरीका अलावा चुलोे मर्मतको काम गर्ने उनले भविष्यबारे भन्न चाहेनन् । पछि विदेश जाने किन नजाने भन्ने जिज्ञासामा थपे – अहिले त जानुपर्छ जस्तो लागेको छैन, हेरुम भविष्यमा के हुन्छ ।
फोनकै भरमा ग्यास पुराउने, भट्टी चुलो मर्मत गर्ने शिवाकोटीले ग्राहक नरिसाउन् भन्ने चान्छन् । पालो मिचेर ग्यास पुराउन सक्दिन, उनले भने – पालो मिच्यो भने कस्टमर रिसाउनछन् । विहान ९ बजेदेखि बेलुका ८ बजेसम्म ग्यास पुराउने काम गर्दै आएका छन् ।
भद्रपुर रोडमा सिके होटलको ग्यास पुराउन आएका शिवाकोटी अर्को ग्यासको अर्डर पनि लिइरहेका थिए । होटल सञ्चालक सिके शाह भन्छन्, डेलिभरीका कारण समयको धेरै बचत भएको छ । ५० रुपैयाँ भाडा दियो भने ग्यास होटलमै आइपुग्छ । पहिले ग्यास लिन जानुपर्ने र खोजी गर्न घण्टौं समय जाने गरेको उनको भनाई छ ।