बैशाख ६, २०८२ शनिबार

बिर्तामोडमा पानीको जार, ओहो ! कसरी पिउनु ?

बिर्तामोड । झापामा पानी उपभोक्ताहरुको स्वास्थ्यमाथि चरम खेलवाड भइरहेको छ । पानी उत्पादक कम्पनीहरुले विक्री गर्ने जार मापदण्ड बमोजिम नभएको फेला परेको छ । मुनीको भागमा कुच्चिएको, फोहोर जार उपभोक्तालाई विक्री गरिरहेको बिर्तामोडमा फेला परेको हो ।

बिर्तामोडमा उपभोक्तालाई विक्री गरिने खानेपानीको जारमा लापरबाही भएको स्थानीयको आरोप छ । बितामोड – ३ दृष्टि आँखा अस्पतालदेखि दक्षिणमा एक उपभोक्ताले खरिद गरेको पानीको जारमा किरा फेला परेपछि लापरबाही भइरहेको स्पष्ट भएको छ ।

नयाँ वर्ष लागेपछि बिर्तामोड –३ कि ज्योती श्रेष्ठले फोन गरेर जारको पानी मगाएकी थिइन् । उनले घरमा कलको पानी पहँलो भएपछि दुई वर्षदेखि जारको पानी खरिद गरेर उपभोग गरिरहेकी थिइन् । जारको पानी खनाएपछि स्याँउ–स्याँउ किरा देखेर उनले स्थानीय छरछिमेक र नगरपालिकालाई जानकारी दिएकी थिइन् । पानी कम्पनीका सञ्चालक समेतलाई किरा फेला परेको जानकारी गराइन् । प्रकाश वेभरेज बिर्तामोड – ४ का सञ्चालक प्रकाश महतोलाई फोन गरेर पानी मागेको श्रेष्ठको दावी छ । यता, पानी मागिएको भनिएका महतोले आफ्नो जार नभएको बताए ।

बिहीवार विहान बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्ती, प्रहरीसहितको टोली श्रेष्ठको घरमा पुगेको थियो । टोलीले पानीमा किरा देखेपछि कम्पनीका बारेमा सोधीखोजी गरेको थियो । श्रेष्ठले पानी पठाउने व्यक्ति प्रकाश महतो भनेपछि उपमयेर संग्रौलाले उनलाई बोलाएर सोधपुछ गरेका थिए । उपमेयरको टोलीलाई बुधबार नै जानकारी दिएपनि विदाका कारण बिहीवार मात्रै पुगेका थिए ।
पानी मगाउने श्रेष्ठ परिवारले दुई वर्षदेखि महतोको कम्पनी प्रकाश वेभरेजद्वारा उत्पादित लाईफ केयर खाइरहेको जनाएको छ । उनै श्रेष्ठले मगाएको पानी २ गते घरमा झारिदिएको बताइन् । महतोसँग फोनमा पानी मगाएपछि गाडिले सुनमाई, बिर्ता जल र लाइफ केयरको स्टिकर देखिने जार झारेका थिए ।

किरा देखिएको जारमा भने कुनै पनि कम्पनीको नाम उल्लेख भएको भेटिएन । मैले जोसँग पानी मगाएको थिए, उनीहरुले जिम्मा लिनुपर्छ भन्ने अडान श्रेष्ठको छ भने महतोले स्टिकर नभएको जार आफ्नो कम्पनीको नभएको दावी गरेका छन् ।
महतोले आफ्नो कम्पनीमा पुगेर टोलीलाई अनुगमन गर्न माग समेत गरेका छन् । उनले भने, ‘सबै हिसावले पानीको जाँच गर्नुहोस्, मेरो पानी हो र गुणस्तरहीन भए कानुन बमोजिक कारबाहीका लागि तयार छु ।’ उनले पानी राखेको भाडा नै फोहोर हुँदा पनि किरा आउने सक्ने जनाए ।

श्रेष्ठको घरमा पानीमा किरा भेटिएको थाहा भएपछि सो क्षेत्रका छरछिमेकहरु जम्मा भएका थिए । छरछिमेकहरुले पनि पानी ल्याउने गाडि बोलाउन भनेपछि महतोले एउटा गाडि मगाए । छिमेकीहरुले उक्त गाडि र चालकले पानी नल्याएको बताएका थिए ।

बिर्तामोडका उपप्रमुख संग्रौलाले किरा फेला परेको घरबाट पानीका ३ वटा जारहरु परीक्षणका लागि ल्याइएको जानकारी दिए । उनले आम उपभोक्ताको स्वास्थ्यमाथि कसैले पनि खेडवाड गर्न नहुने बताएका छन् । उनका अनुसार बरामद गरिएको जारको पानी परीक्षणका लागि पठाइने छ ।

प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]