भाटभटेनीको अण्डरग्राउण्ड पार्किङबाट ‘मोसा’ चोरी
बिर्तामोड । झापाको बिर्तामोडस्थित भाटभटेनीको अण्डरग्राउण्ड पार्किङबाट पल्सर मोटरसाइकल चोरी भएको छ । गत चैत २५ गते किनमेलका लागि भाटभटेनी पुगेका अर्जुनधारा ६ का बबिन न्यौपानको मोटरसाइकल चोरी भएको हो ।
किनमेलका लागि पुगेका न्यौपानले ४ बजेर ७ मिनेटमा अण्डरग्राउण्ड पार्किङमा मोटरसाइकल राखेको जानकारी दिए । उनको मोटरसाइकल ४ः३२ बजे चोरी भएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । क्याप र मास्क लगाएको मान्छेले मोटरसाइकल लैजादै गरेको देखिन्छ, न्यौपाने भन्छन्– बाहिरबाट चोरी भएको भए अचम्म हुदैन थियो । तर, अण्डरग्राउण्ड पार्किङबाटै चोरी हुनुले अचम्मित बनाएको छ ।
अण्डरग्राउण्डबाटै चोरी भएपछि न्यौपानेले भाटभटेनी नै जिम्मेवार हुनुपर्ने बताउछन् । भाटभटेनी पक्षले त्यस विषयमा प्रहरीमा जानु भनेर जवाफदेही बन्न नखोजेको दुखेको पोखेका छन् ।
न्यौपानेको प्रदेश १–०१ ०१४प ७१५७ नम्बरको २२० सीसीको मोटरसाइकल चोरी भएको हो । उनले इलाका प्रहरी कार्यालय अनारमनीमा खोजीकार्यका लागि उजुरी दिएका छन् ।
बिर्तामोड भोटभटेनीको स्टोर म्यानेजर लक्ष्मी गुरुङले चोरीको भएको खण्डमा जिम्मा लिन नसकिने बताइन् । उनले पार्किङका लागि ठाउँ उपलब्ध गराइएको हो, आफ्नो साधनको सुरक्षा आफै गर्नुपर्ने सूचना नै राखिएको जानकारी दिइन् । हाम्रो ग्राहकको सवारी सुरक्षाप्रति सचेत छौं, उनले भनिन् – चोरी भएको खण्डमा सवारीको जिम्मा लिन सक्दैनौं । आवश्यक फुटेज, सूचना र समन्वयमा भने सहयोग गरिने छ । पीडित पक्षका लागि प्रहरीलाई आवश्यक समन्वय गर्न सहयोग गर्ने गरिएको उनको भनाई छ ।