अर्जुनधाराधाममा सामुहिक विवाह
बिर्तामोड । झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामुहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्यण् राखेको धामले १९ जोडीको विवाह गरेको जनाएको छ ।
अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दू परिषद नेपालको समन्वयमा सामुहिक विवाह सम्पन्न गरिएको हो । अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामुहिक विवाह गरेको जनाएको छ ।
गरिव, विपन्न परिवारलाई लक्षित गरेर आयोजना गरिएको विवाहमा हिन्दु धर्म परम्परा अनुसार विवाह गरिएको हो । खर्च अभाव कारण विवाह गर्न नसेक्ने बरबधुलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क सामुहिक विवाह आयोजना गरिएको अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।
सामुहिक विवाहका लागि अलग–अलग मण्डप र गुरुहरुको व्यवस्था गरिएको थियो । बेहुला र बेहुलीको परिवारको तर्फबाट १०-१० जना सहभागी हुन दिइएको छ । धामले सामुहिक रुपमा भोजन समेत गराएको छ ।
धामका अध्यक्ष गट्टानीका अनुसार विवाहको सम्पूर्ण खर्च धामले ब्यहोरेको छ । विवाह सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । धामका गुरु अग्नि सिग्देलले ब्रम्हा विवाहको बिधिबाट सामुहिक विवाह गरिएको जानकारी दिए ।
विवाहका लागि धामले फारम नै तयार गरेको थियो । विवाहका लागि आव्हान नै गरेको धाममले वरवधुलाई एकसरो उपहारसमेत प्रदान गरेको छ । वरवधुले अभिभावकको अनुमती वडा र नगरको सिफारिस वा वरवधु नै राजिखुसी भएको प्रमाण पेश गरेपछि धामले विवाहका लागि स्वीकार गरेको हो ।