मेचीनगरका चार उद्योगलाई सचेत गराइयो
मेचीनगर । सरसफाईमा ध्यान नदिएको भन्दै आज मेचीनगरका चार वटा खाद्य उद्योगलाई सचेत गराइएको छ ।
बिहीबार मेचीनगर नगरपालिकाको सहकार्यमा जिल्लाको सरकारी निकायको बजार अनुगमन टोलीले दोस्रो दिन मेचीनगर–११, १० र ६ नम्बर वडामा रहेको चार वटा खाद्य उद्योगहरुमा सरसफाई नपाइएकोले सचेत गराइएको हो ।
नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले धाइजनको सूर्य पल्स एण्ड प्रोसेसिङ प्रालि, धुलाबारीको निशा पाउरोटी उद्योग, सोही ठाउँको अस्मिता पाउरोटी उद्योग र काँकरभिट्टाको नेहा स्नेह बेकरी उद्योगमा अनुगमन गरिएको जानकारी दिए ।
अनुगमन गरिएका चार वटै उद्योगहरुमा उत्पादन गरिएका पाउरोटी, ब्रेड, डुनोट, विस्कुट, केक लगायतका खाद्य पदार्थ छेउछाउ सरसफाईमा ध्यान नदिएको र विभिन्न प्रकारका दालहरु प्रोसेसिङ गर्दा काममा खटिएका मजदुरहरुले माक्स र हेयर नेट प्रयोग नगरिएको पाइएकोले सचेत गराइएको कार्कीले बताए ।
त्यस्तै उद्योगले उत्पादन गरिएको सामग्री प्याकेजिङ्ग गर्दा लेवल नराखेको, संस्था नविकरण नगरेको, ढक, तराजु व्यवस्थितसँग नराखेको, सरसफाई, भण्डारण र सुरक्षित राख्न ध्यान नदिएको पाइएको उनले बताए ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् बजार अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीको नेतृत्वको टोलीमा खाद्य विश्लेषक दिपेन्द्र कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक संगीता साह, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायव सुब्बा सुरेश गौतम, गुणस्तर तथा नाप तौल कार्यालय भद्रपुरका नायव सुब्बा विजयनन्द चौधरी, इलाका प्रहरी कार्यालय धुलाबारीका सई जुनुम चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असई गोविन्दकुमार दास, नगर प्रहरीहरु प्रकाश बानियाँ, अजयकुमार राजबंशी लगायतको उपस्थिति रहेको थियो ।
बुधबार टोलीले मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगमा ताला लगाएको र अन्य उद्योगहरुलाई सचेत गराएको थियो ।