पाँचथर प्रकरण : झुण्डिएका युवा नै हत्यारा भएको आशंका

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको छ ।
गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको थियो । अज्ञात समूहले बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो । रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिम धनराजका आफन्त हुन् ।
हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी, प्रदेश प्रहरीको विशेष टोली, केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का एसपी र तालिमप्राप्त कुकुरको टोली परिचालन गरिएको छ । पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सय बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।