अनाथ किशोरीले जितिन् मिस टिनको उपाधि
विर्तामोड । अनाथलयमा हुर्किएकी भावना चौहान मिस टिन प्रोभिन्स १ को विजेता बनेकी छन् । विर्तामोड नगरपालिका–४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी किशोरी चौहानले उपाधि जितेकी हुन् ।

परिचय राउन्ड, प्रश्नोत्तर राउन्डबाट नै उत्कृष्ट बन्दै आएकी चौहानले अन्तिममा सोधिएको प्रश्नमा गतिलो जवाफ दिएकी थिइन् । देश विकासमा महिलाको भूमिका के हुनुपर्छ ? भन्ने निर्णायकको प्रश्नमा उनले ‘देश विकासमा महिलाको भूमिका खोज्ने हो भने पहिला महिलालाई शिक्षित बनाउनुपर्छ’ भन्ने जवाफ दिएकी थिइन् ।
उनका बुवा को हुन् उनलाई नै थाह छैन । आमाले सानै छोडेर हिँडिन् । उनी अहिले विर्तामोड ४ मा रहेको तारा नमस्ते बाल ग्राममा आश्रय लिएर विर्तामोडकै महेन्द्र रत्न माविमा कक्षा १२ मा अध्ययनरत छिन् ।
उनीसँगै बहिनी पूर्णिमा चौहान पनि सोहि आश्रममा बस्दै आएकी छन् । आश्रमका अध्यक्ष नारायण पोखरेलका अनुसार भावनालाई ७ वर्षको हुँदा आश्रममा ल्याइएको थियो । राम्रो नृत्य समेत गर्ने भावना विभिन्न नृत्य प्रतियोगितामा समेत उत्कृष्ट बन्दै आएकी छन् ।
उनले विर्तामोडमै रहेको होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्नका लागि सतप्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा दोस्रो र तेस्रो क्रमशः स्मृति सुनुवार र अनुष्का कटवाल भएका छन् । प्रतियोगिता विरता जेसीज र विर्ता मिडिया इन्टरटेन्मेन्ट प्रालिको संयुक्त आयोजनामा शनिवार साँझ सम्पन्न भएको थियो । सो इभेन्टमा प्रतियोगीलाई ५ सय मुल्यको १० वटा टिकट विक्रि गर्न समेत लगाइएको थियो ।