मेचीनगरमा कालाजार विरुद्ध स्प्रे मेन परिचालन
मेचीनगर । झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला परेपछि नगरपालिकाले विभिन्न वडामा किटनाशक विषादी छिटकाउ कार्यक्रम सञ्चालन गरेको छ ।

नगरका कालाजार प्रभावित क्षेत्रमा स्प्रे मेन परिचालन गरि ‘अल्फासाईडफर पाराफोराईड’ नामक औषधि छर्किने अभियान सञ्चालन गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसका लागि ६ जना स्प्रे मेन परिचालन गरिएको शाखा संयोजक शशीकला राईले बताईन् । केहीदिनअघि नगरको १५ नम्बर वडामा कालाजारको नयाँ रोगी फेला परेका थिए ।
वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा ५ हजार रुपैयाँ छुट तथा यातायात खर्च वापत १ हजार रुपैयाँ रोगीले पाउने छन् ।
त्यस लगत्तै नयाँ रोगी खोज्दैं जनप्रतिनिधि,स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर किटनाशक बिषादी छिटकाउ गर्ने तथा अन्य रोगीको खोजपडताल तथा शीघ्र निदान गरी उचित उपचार चेतनामुलक स्वास्थ्य शिक्षाको प्रवन्ध मिलाईए जनाइएको छ ।
नगरको ६, १५, ८ लगायतका वडामा किटनाशक बिषादी छिटकाउ अभियान सञ्चालन भएको फोरमेन थामबहादुर थापाले जानकारी दिए ।