होटल व्यवसायलाई मर्यादित बनाउन प्रहरीकाे एक्सन
बिर्तामोड । होटल व्यवसायलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय झापाले पहल थालेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा होटल व्यवसायीसँग अन्तरक्रिया गर्दै प्रहरीले सेवामुखी होटल व्यवसायलाई मर्यादित बनाउन पहल थालेको हो ।

झापाको मुख्य बजारहरु विर्तामोड, काँकरभिट्टा, दमक र अन्य बजारमा यौनधन्दा चलाएको कारण होटल व्यवसाय मर्यादित बन्न नसकेको गुनासो बढेपछि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत होट व्यवसायीलाई विकृति अन्त्य गर्न सूझाव दिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सेवाग्राहीमैत्री बनाउन आग्रह गरेका छन् । उनले विर्तामोड क्षेत्रमा होटल व्यवसाय गर्दै आएका व्यवसायीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै पाहुनालाई अप्ठ्यारो लाग्ने कुनै काम नगर्न निर्देशन दिएका छन् । होटल व्यवसाय सम्मानित व्यवसाय भएकाले मर्यादित बनाउनु पर्ने उनको जोड थियो ।
प्रहरी उपरीक्षक मैनालीले भने, यौनजन्य गतिविधि गर्नेलाई अब कुनै पनि अवस्थामा कारबाही गरिनेछ । यौनधन्दाले आफ्नो ठाउँको बद्नाम गराइरहेको हुन्छ , उनले भने– तपाईको कामले बद्नाम भयो भने यस क्षेत्रको आर्थिक अवस्थामा समेत ह्रास ल्याउने छ । त्यसैले आफ्नो व्यवसायलाई मर्यादित,सभ्य बनाउनु होस् ।
अन्तक्रियामा उनले नीति नियम र कानुन विपरित काम नगर्न आग्रह समेत गरेका छन् ।
यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहन थापाले होटलमा बस्ने जो कोहिको अभिलेख सुरक्षित राख्नु पर्ने बताएका छन् ।
उनले अपराधिक घटना हुन नदिन र होटलको सुरक्षाका लागि पनि अभिलेख अनिवार्य रहेको बताए । व्यवसायका नाममा अश्लिल गतिविधि नगर्न विर्तामोडका होटल व्यवसायीलाई सूझाव दिएका छन् । उनले कुनै पनि होटलमा यौनजन्य गतिविधि भए वा बालश्रम शोषण गरेमा व्यवसायीलाई कानुनी दायरामा ल्याइने जिकिर गरेका छन् । डिएसपी थापाले ग्राहकलाई होस गुमाउने गरी रक्सी र अस्वस्थ्यकर खाना नदिन भन्दै व्यवसायलाई मर्यादित बनाउन आग्रह गरे ।
विशेष गरी विर्तामोडको बसपार्क क्षेत्रका होटलमा यौनजन्य गतिविधि हुने गरेको छ । बसपार्ककै होटलका कारण झापाको मुख्य बजार विर्तामोड बद्नाम व्यहोर्दै आएको छ ।
बिर्तामोडका होटल व्यवसायी देवीभक्त श्रेष्ठले सबै होटललाई एउटै तहमा राख्न नहुने प्रतिक्रिया दिएका छन् । उनले धन्दा गर्ने र पर्यटकीय होटललाई एउटै आँखाले हेरेका कारण राम्रा होटलको समेत बद्नाम भइरहेको बताए । उनले होटलको स्तर छुट्टाउनुपर्ने माग गरेका छन् । यस्तै, होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेतीले हिजोका दिनमा जेजे भएपनि अबका दिनमा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनलाई यौनधन्दाका संरक्षक भन्ने आरोप पनि लाग्ने गरेको छ । उप्रेतीले जिल्लाको होटल व्यवसायलाई मर्यादिन बनाउन सबै होटल व्यवसायी सचेत भएको बताएका छन् ।
बालमैत्री र मानवअधिकारमैत्री बनाउने

इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी सेवा बालमैत्री र मानव अधिकारमैत्री बनाउनका लागि निर्माण गरिएका दुई संरचनाको उद्घाटन समेत गरिएको छ । चिल्ड्रन कर्नर र प्रहरी अनुसन्धानात्मक अन्तरवार्ता कक्षको प्रहरी उपरीक्षक दिनेश राज मैनालीले उद्घाटन गरेका छन् । चिल्ड्रेन कर्नर ४ लाख र अन्तरवार्ता कक्ष ७ लाखमा निर्माण गरिएको हो ।

होटल अनुगमन गर्दा भेटिएको कमिकमजोरी
वेस्यावृत्ति र बाल श्रम शोषण हुने गरेको ।
वालवालिका समेत वेस्यावृत्तिमा प्रयोग गरिएको पाइएको ।
रातको समयमा तोकिएको समय भन्दा बढी समय होटल खुल्ला गर्ने ।
तोकिएको मापदण्ड विपरित होटल संचालन गर्ने ।
ग्राहकलाई ठगी गर्ने, यखभच दष्ििष्लन गर्ने,
झैझगडा हुने गरेको ।
ग्राहकको परिचय पत्र सहितको अभिलेख नराख्ने गरिएको ।
सिसि क्यामरा जडान नगरिएको ।
कर्मचारीलाई ड्रेसको व्यवस्था नभएको ।
खाध स्वच्छता नभएको, कोठा सरसफाई नभएको ।
होटल सम्वन्धित निकायवाट दर्ता नभएको ।
करको दायरामा नआएका ।
होटल तथा लजले ध्यान दिनुपर्ने कानूनहरुः
बालवालिका सम्वन्धी ऐन, २०७५ को दफा ६६ मा वालवालिकालाई वेस्यावृत्ती लगायत यौनजन्य क्रियाकलापमा लगाएमा १५ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । डान्सवार क्यासिनो लगायत मनोरन्जनस्थलमा वालवालिकालाई प्रवेश गराउने वा प्रयोग गराउने कार्यलाई पनि दण्डनिय व्यवस्था गरेको छ ।
बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रुपमा काममा लगाउनु हुँदैन । कसैले बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउनु हुँदैन । होटल रेष्टुरेन्ट जोखिमपूर्ण व्यवसायमा पर्ने हुनाले १८ वर्ष भन्दा मुनीका वालवालिकालाई होटलमा काम गराउन नमिल्ने व्यवस्था रहेको । कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउनु हुँदैन ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै प्रकारको फाइदा लिई वा नलिई कसैलाई पनि वेश्यावृत्तिमा लगाउने, वेश्यागमन गराउने कार्यमा संलग्न गराउन नमिल्ने । गरेमा १५ वर्षसम्म कैदको व्यवस्था रहेको छ ।
होटल व्यवसायीलाई इलाका प्रहरी कार्यालय, विर्तामोडको अनुरोधः
सिसि क्यामरा जडान गर्नुहोस ।
ग्राहकको परिचय पत्र सहितको अभिलेख राख्नुहोस् ।
व्यवसाय दर्ता गरी कर तिर्नुहोस ।
आपराधिक एवम शंकास्पद गतिविधि जानकारी भएमा तुरुन्तै प्रहरीलाई सुचना गर्नुहोस ।
कर्मचारीहरुको ड्रेसको व्यवस्था गर्नुहोस ।
खाध स्वच्छता र सरसफाईलाई ध्यान दिनुहोस ।
कुनै प्रहरीले कुनैपनि आवरणमा नगद तथा जिन्सी माग गरेमा तुरुन्तै कार्यालय प्रमुखलाई खवर गर्नुहोस ।
होटल सुरक्षाका अन्य विभिन्न उपायहरु अपनाउनुहोस । सुरक्षा गार्ड राख्नुहोस ।
प्रचलित ऐन कानून निर्देशिकाले तोकिएको मापदण्ड पुरा गर्नुहोस ।
होटललाई सुरक्षित र मर्यादित वनाई सम्मानजनक पेशा वनाउन सहयोग गर्नुहोस ।