घुमुवाको प्रयोग गरेर डिएसपीको झापामा असुलीधन्दा
खगेन्द्र घिमिरे
झापा । सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्प शनिश्चरे झापाका डिएसपी ओजेश ओलीले व्यापारीहरुसँग मासिक नजरना उठाउँने गरेको खुलासा भएको छ ।

करिव ३ महिनाअघि देखि शनिश्चरे क्याम्पमा जिम्मेवारी समाल्दै आएका ओलीले बिभिन्न व्यापारीहरुबाट अवैध असुलीको धन्दा चलाइरहेको पीडित व्यापारीहरुले गुनासो गरेका छन् ।
पूर्वी नाकाको भारतबाट नेपाल तर्फ आयात गरि व्यापार गर्दै आएका व्यापारीहरुबाट अवैध रुपमा प्रति व्यापारी १ हजार देखी ३२ हजारसम्म उठाउँने गरेको प्रमाण फेला परेको छ ।
व्यापारीहरुसँगको फोन रेकर्डले सशस्त्रका डिएसपी ओलीले नजराना उठाइरहेको पुष्टि भएको छ । अनुसन्धान मिडियाले खुलासा गरेको रिपोर्टमा व्यापारीहरुले मासिक रुपमा हरेक महिना १ देखि १० गते भित्र डिएसपी ओलीलाई रकम बुझाउँने गरेको बताएका छन् ।
डिएसपी ओलीले कपडा, किराना, हार्डवेयर, सुर्ती, काठ लगायतका व्यापारीहरुबाट मासिक रुपमा आफु मातहतका सिपाही र घुमुवा खटाएर रकम असुल्दै आएको व्यापारी बताउँछन् ।
मेचीनगर, दमक,उलाबारी क्षेत्रका व्यापारीहरुबाट सादा पोसाकमा खटाइएका घुमुवा विश्वास राजबंशीले पैसा लाने गरेको स्वयम् व्यापारीहरुले बताए । यसको साथै कोहीँ कोहीँ व्यापारीलाई त स्वयम् डिएसपी ओली आफैले फोन गर्ने गरेको स्रोतको भनाई छ ।
यसअघि सशस्त्र प्रहरी २ नं. गणमा रहेका ओली शनिश्चरे सरुवा भएसँगै उनले व्यापारीहरुलाई आफ्नो पकटमा राखेर मासिक रकम असुल्दै आएका छन् । हरेक महिना बितेपछि यदि व्यापारीले पैसा दिन ढिलो गरे पूर्व पश्चिम राजमार्गको बिभिन्न क्षेत्रमा चेक पोईन्ट खडा गरी साथै चारआली जंगलमा छड्के रुपमा चेक गरी व्यापारीको सामान हडप्दै आएको बुझिएको छ ।
झापा उलावारीकी एक व्यापारी महिलाले केहीँ दिन अघि डिएसपी आफैले फोन गरेर पैसा मागेपछि आफुले १० हजार घुमुवा राजबंशीको हातमा दिएको बताईन् । तर, उनी तालिममा गएको सुनेको छु । उनले भनिन् ।
त्यस्तै अन्य ५ हजार देखी २० हजार साथै सामुहिक रुपमा रकम बुझाउँने दजनौ व्यापारीहरु रहेका छन् । उनीहरुले घुमुवा मार्फत डिएसपी ओलीलाई पैसा पठाउँने गरेका छन् ।
केहीँ दिनअघि ओलीले बेस क्याम्प भित्रको काठ चिरान गरी आफ्नो निजी सामान बनाउने गरेका तथ्य समेत बाहिर आएको थियो । हरेक व्यापारीले पूर्वी नाकाबाट सामान भित्राउँदा ओलीलाई मासिक रकम बुझाउँनु पर्ने बाध्यता देखिएको छ । पछिल्लो समय शनिश्चरे बेस क्याम्पको नयाँ भवन बनाउँने भन्दै ओलीले रकम माग्ने गरेको समेत स्रोत बताउँछ ।
सशस्त्र प्रहरी बेस क्याम्प नजिक शनिश्चेरमा रहेको छ । तर, सम्पूर्ण व्यापारीसँग कनेक्सन हुने गरेको छ । प्रहरीलाई महिनावारीका हिसाबले रकम बुझाएर तस्करी गर्ने गरेको व्यापारीको भनाई छ । नत्र भने सामान बिचबाटै बाट खोसिन्छ ।
अबैध रकम असुली गर्ने शनिश्चरे बेस क्याम्पका डिएसपी आफनो घर पायक क्षेत्र भएकै कारण पनि व्यापारीसँग नजिक बन्न पुगेका हुन् ।
नाकामा व्यापारीसँग अवैध रुपमा डिएसपी ओलीले रकम असुली गर्दै आएको भन्ने बिषयमा झापाका एसपीलाई थाहा छैन ।
यस बिषयमा सशस्त्र प्रहरी पूर्व क्षेत्रीय बल नम्बर १ बाहिनीका बाहिनीपति डिआईजी नगेन्द्र वहादुर थापाले घटनाबारे सोधपुछ गर्ने बताएका छन् ।