बैशाख १६, २०८२ मंगलबार

कृषिमा आत्मनिर्भर तर्फ अर्जुनधारा : किसान प्रविधिमैत्री खेतीमा आकर्षित

सुस्मा त्रिखत्री

स्थानीय तहको पुनःसंरचना पछि तथा स्थानीय तहको निर्वाचनपछि झापाको अर्जुनधारा नगरपालिका कृषिमा आत्मनिर्भर बन्दै गएको देखिन्छ । कृषकहरुलाई कृषिमा आत्मनिर्भर बन्न र प्रविधिमैत्री बनाउन नगर लागिपरेको हो । कृषकहरुलाई कृषिमा अझ उत्साह जगाउनका लागि उत्पादनमा अनुदान लगायत विभिन्न तालिम साथै प्राविधिक भौतिक सामग्रीहरु प्रदान गरे सँगसँगै किसानहरुमा उत्साह पाइएकोछ ।


पछिल्लो समय अर्जुनधारा नगरपालिकाका किसानहरु प्रबिधि मैत्री बन्न थालेका छन् । किसानहरुमा कृषिमा आधुनिकता देखा पर्न थालेको छ । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले गरेको बिभिन्न खाले सहयोगका कारण किसानहरु प्रबिधिमैत्री बन्न थालेका हुन् । पछिल्लो समय किसानहरुलाई बिभिन्न गैरसरकारी संघसंस्थाको समेत आर्थिक तथा प्राविधिक र भौतिक सहयोग हुन थाले पछि कृषिमा आधुनिकता समेत देखिएको हो ।


नगरपालिकाले नगरक्षेत्रमा बिभिन्न कार्यक्रम गरिरहेको र किसानलाई परम्परागत खेतीबाट आधुनिकतामा लैजान बिभिन्न आधुनिक कृषि सामग्री समेत बितरण गरेपछि पछिल्लो समय यहाँ उत्पादनमा समेत बृद्धि भएको किसानहरु बताउँछन् । नगरपालिकाले नगर क्षेत्रमा रहेका कृषि समुह कृषि फार्महरुलाई भौतिक तथा प्राबिधिक सहयोग गरे पछि कतिपय कृषि फार्मका संचालकहरु खुसी समेत भएका छन् ।

किसानका लागि के गर्यो नगरले
आर्थिक वर्ष २०७५/०७६ मा अर्जुनधारा नगरपालिकाले किसानका पक्षमा धेरै राम्र काम गरेको देखिन्छ । माटो शिविर सञ्चालन, माटो सुधार प्रदर्शन तथा एकघर एक करेसावरी जस्ता नगरपालिकाका कार्यक्रम उदाहरणीय रहेका छन् । नगरपालिकाले आफ्नै पहलमा दुईवटा वडालाई पकेट क्षेत्र बनाई किसानलाई प्रोत्साहन गरेको छ । नगरपालिकाले वडा नं. ८ लाई मकै तथा धान र वडा नं. २ लाई पशु पकेट क्षेत्र बनाए पछि किसानहरु हर्सित समेत भएका छन् । नगरपालिकाले किसानहरुलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ ।


नगरपालिकाले बिभिन्न कृषि फार्म र किसानहरुलाई सिंचाइका लागि बिभिन्न कार्यक्रम गरिरहेको छ । विश्वास कृषि फार्म सिक्कल अर्जुनधारा– ११ , गौमुखी सुपारी सहकारी अर्जुनधारा–१०, ककुवाली पुर्व वगरगाउँ सिचाई उपभोक्ता समिति अर्जुनधारा –४ लाई सिंचाईका लागि मोटर अनुदान दिएको छ । त्यस्तै, यो वर्ष दाजुभाई कृषि फर्म अर्जुनधारा–५, मामाभान्जा कृषि फार्म अर्जुनधारा–८, हात्तिकिल्ला कृषक समुह अर्जुनधारा–८, शनिश्चरे साना किसान कृषि सहकारी सस्था अर्जुनधारा ११, पशुराम पोखरेल अर्जुनधारा–१० मा पनि नगरपालिकाले बोरीङ र मोटरका लागि अनुदान सहयोग गरेको छ ।


त्यस्तै गरी अग्रगामी शान्ति महिला समाज, सुर्खानी मिश्रित कृषक समुह अर्जुनधारा–३, बेलटार कृषक समुह अर्जुनधारा–२, शितलादेवी कृषक उपभोक्ता समिति हात्तीकिल्ला , मामा भान्जा कृषि फर्म अर्जुनधारा–८ लगाएतका दर्जन बढी स्थानमा नगरपालिकाले बोरीङ र मोटरका लागि अनुदान सहयोग गरेको छ ।


त्यस्तै, नगरपालिकाले जुकेखाडी मिश्रीत कृषक समुह, कुसुमे घास तथा विउ विजन उत्पादक महिला समुह पैनी मर्मत अर्जुनधारा–३, माधव भण्डारी अर्जुनधारा–५ सिचाई मोटर खरिद , ककुवाली पूर्व वगरगाउं सिचाई उपभोक्ता समिति अर्जुनधारा–४, चौहान पैनी जल उपभोक्ता समिति पैनी मर्मत अर्जुनधारा–४, ज्योती कृषक समुह अर्जुनधारा–१० मा साना सिंचाई निमार्ण तथा मर्मत सम्भार र मोटर वितरण समेत समेत गरेको छ । शितलादेवी कृषक उपभोक्ता समिति, मामा भान्जा कृषि फर्म अर्जुनधारा–८,दाजु भाई कृषि फर्म अर्जुनधारा, मामाभान्जा कृषि फार्म अर्जुनधारा–८, ताप्लेजुङ टोल पकेट कार्यक्रम, सुखानी धरधरे बस्तीमा शहिद् कुलोको मुहान छेउ आसपास खानेपानी आयोजना सञ्चालन गरी सिचाईका लागि उदाहरणीय कार्य गरेको नगरपालिका कृषि विकास शाखा प्रमुख मिना अधिकारीले बताईन् ।


नगरपालिकाले पाथीभरा महिला कृषक समुह अर्जुनधारा–९, ज्योती कृषक समुह अर्जुनधारा–१०, विशुद्ध तरकारी विउ विजन सहकारी संस्था लि. अर्जुनधारा–५, उपहार मिश्रित समुह मकै छोड्याउने मेसिन उपलब्ध गराएको छ । त्यस्तै अर्जुनधारा–१०, प्रगतिशलि महिला कृषक समुह अर्जुनधारा–१०, शनिश्चरे साना किसान कृषि सहकारी सस्था अर्जुनधारा ११, उन्नत कृषक समुह अर्जुनधारा–१०, चारघरे महिला कृषक समुह अर्जुनधारा–९ लार्ई पनि अनुदान रकम दिई मकै छोड्याउने मेसिन उपलव्ध गराएको छ । नगरपालिकाले मकै छोडाउने मेसिन उपलव्ध गराए पछि समयको बचत भएको किसानहरु बताउँछन् ।

तराईका भन्सामा पहाडका तरकारी
नगरपालिकाले बिशेष योजनाका साथ तराईका भान्सामा पहाडका तरकारी खुवाउने लक्ष्य लिएको छ । आफूसँग उत्पादन भएका तरकारी पहाड पठाउने र आफ्नो ठाउँमा उत्पादन नहुने पहाडबाट ल्याई तराईका भन्सामा पहाडका तरकारी पकाउने लक्ष्य राखिएको हो ।


शहर र विदेश पलायन हुने क्रमबढी रहँदा युवाहरुलाई कृषिमा लाग्न प्रेरणा जगाउने बिशेष निती बनाउने लक्ष्य रहेको नगर प्रमुख हरिकुमार राना मगरले बताए । पछिल्लो समय नगरपालिकाबाट युवाहरु रोजगारीका लागि शहर र विदेश पलायन हुने क्रम बढी रहेको अवस्थामा कृषिमा बिशेष योजना ल्याई काम गर्न लागिएको हो । नगरपालिकाले बैदेशिक रोजगारीमा जानेलाई गरे आफ्नै माटोमा सुनफल्छ भन्ने योजनाका साथ काम गर्न लागेको पनि नगर प्रमुख मगरले बताए ।

नगरले बिषादी रहित तरकारीलाई प्रथामिकता दिई उत्पादनमा बृद्धि गर्ने लक्ष लिएको उनको भनाई छ । शुद्धअर्गानिक खेती र उत्पादनमा बृद्धि गरी पहाडका तरकारीसंग तराईका तरकारी साट्न सक्ने पनि उनको भनाइ छ । हरेक योजनाहरु कागज मै बनेर कागज मै सकिने प्रावधानले हरेक स्थानीय तहको बदनामी भई रहेको बेला जनताको अभिमत पाएका जनप्रतिनिधिहरु लागि परे अर्जुनधारा नगरपालिका एक नं. प्रदेशकै नमुना बनाउन सकिने छ । नगरपालिकाले सामूहिक खेती, उत्पादनमा अनुदानसहितका लक्ष्य लिएर काम गर्न सके यहाँ सबैको जीवनशैली नै परिवर्तन हने देखिन्छ ।

पकेट विकास कार्यक्रम
संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चलाई रहेको बेला नगरपालिकाले आफ्नै पहलमा वडा नं. ८ लाई धान तथा मकैको पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकामा उत्पादन बढाउन यो योजना चलाईएको नगरपालिकाको कृषिविकास शाखाले बताएको छ ।
नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेर पकेट क्षेत्र घोषण गरेको हो ।

वडा नं. ८ मा बनाईएको धान तथा मकै पकेटमा पछिल्लो समय उत्पादन समेत बढेको किसानहरु बताउँछन् । तिन बिघामा लगाएको मकै गत वर्ष हरुमा ३ सय मन बल्ल तल्ल हुने गरेको थियो तर योसाल मकैको उत्पादन दोब्वर हुने किसान नन्दलाल धिमालको भनाई छ । आफुले पहिला परम्परा गत रुपमा खेती गर्दा ३ सय मन मकै हुने ठाउँमा अहिले कम्तिमा पनि ४ सय मन भन्दा माथि मकै उत्पादन हुने उनले बताए । पकेट क्षेत्र घोषण गरेपछि नगरपालिकाले माटो परीक्षण देखी प्रबिधि हस्तान्तरण गरेका कारण पनि उत्पादन बढी हुने उनको भनाई छ ।


नगरपालिकाले पकेट क्षेत्रका विभिन्न ६ वटा किसान समुहलाई धानको बिउ समेत ५० प्रतिशत अनुदानमा बितरण गरेको छ । हात्तीकिल्ला कृषक समुह, देवस्ला देवी कथान कृषक समुह, मामाभञ्जा कृषक समुह, सुनाखरी कृषक समुह लगायतका बिभिन्न समूहरुमा एक लाख तीन हजार नौ सय बराबरको धानको विउ बितरण गरिएको कृषि बिकास शाखाकी प्रमुख अधिकारीले बताईन् ।


यति मात्रै नभएर नगरपालिकाले टिपिएस बियाँबाट आलु उत्पादन प्रदर्शन, उन्नत वाली उत्पादन प्रदर्शन, माटो सुधार प्रदर्शन, कृषि चुन अनुदान, महिला सहभागिता बढाउन व्यवसायिक च्याउ खेती प्रवर्धन कार्यक्रम तालिम संचालन गरी किसानलाई सक्षम बनाई रहेको छ । बिरुवा उत्पादन नर्सरी व्यवस्थापन तालिम, बिद्यालयहरुमा कृषि शिक्षा प्रशिक्षण लगायतका काम गरिरहेको छ ।
नगरले यो वर्षेबर्षे फलफूलका ४ हजार बढी विरुवा खरिद गरी किसानलाई वितरण गरेको छ ।

कागती, आँप र लिचिका बिरुवा किसानलाई बितरण गरिएको कृषि विकास शाखाले जनाएको छ । एक घर एक करेसावारी कार्यक्रम चलि रहेका बेला एक घर एक बिरुवा एक कुडार एक अनार जस्ता कार्यक्रम ल्याई समृद्ध नगर बनाउन लागि परेको जनप्रतिनिधिहरुको भनाई छ । तरकारीको उन्नत वीउ अनुदान तथा किट वितरण समेत गर्दा निशुल्क बिउ पाउँदा किसान हर्सित देखिन्छन् ।

नगरपालिकाको कृषि तथ्यांक संकलन प्रकाशन गरी कृषि सहकारी, एग्रोभेट, सरोकारवाला संस्थाको सुचिकृत समेत गरेको छ । यसरी सुचिकृत भएका समुह तथा उत्कृष्ट तिन कृषकलाई पुरस्कार समेत गरिने लक्ष्य राखेको छ । नगरपालिकाले मिनिटिलर धानझार्ने थे्रसर, मल्चिङ प्रविधि तथा थोपा सिंचाई कार्यक्रम, जैविक विषादी उत्पादन तालिम तथा ड्रम अनुदान प्राङ्गारिक मल (गड्यौला अनुदान) उत्पादन केन्द्र स्थापना, प्राङगारिक मल उत्पादन तथा अनुदान, प्लाष्टिक टनेल अनुदान गरी किसानहरुको समास्यालार्य सामधान गरी रहेको छ ।

बिशेष गरी महिलाहरुको बिशेष पर्व तिजका बेलामा प्राङगारिक कृषिमा आधारित तिज गित प्रतियोगिता गरेर सचेतना जगाउने उदेश्यले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी प्राङगारिक खेतीमा लाग्न आग्रह समेत गरेको छ ।

तरकारीबाटै समृद्धि
अर्जुनधारा नगरपालिकामा पछिल्लो समय युवाहरु पुर्ख्यौली खेती छाडेर व्यवसायिक तरकारी खेती गर्न थालेका छन् । नगरपालिकाको वडा नं. ८ मा मामा भान्जा कृषि फर्म नै चलाएर दुई युवाहरु उदाहरणीय बनेका हुन् । वडा न. मा गरिएको तरकारी खेतीबाट उनीहरु वार्षिक १५ लाख भन्दा बढी आम्दानी गरि रहेका छन् ।


साँढे तिन बिघा जमिनमा फर्म खोलेर उनिहरुले तरकारी उत्पादन गरे पनि बजार नपाउँदा कुनै बेला आफुले उत्पादन गरेका तरकारीहरु सढेर जाने गरेका कारण समस्यामा परेको बताउँछन् । हिजोको दिनमा सिंचाई सुबिधा नहुँदा आफुहरुलाई समस्या नै थियो ।

तर, अहिले सिंचाईका लगि नगरपालिकाले अनुदान दिए पनि उत्पादन भएको तरकारीले बजार नपाउँदा कुनै बेला त पेशाबाट नै पलायन हुन पर्छ की जस्तो लाग्ने मामा भान्जा कृषि फर्मका संचालक मध्य एक निर्मल अधिकारीले बताए । भारतबाट आयात गरिएका तरकारी सस्तो हुने भएका कारण अर्गानिक उत्पादनमा कसैको ध्यान नजाने नगएकाले कारण पनि आफुहरुले उत्पादन गरेका तरकारी सढ्ने गरेको उनको भनाई छ ।


अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारले मात्रै तरकारी खपत नगर्ने भएका कारण आफुहरुले उत्पादन गरेका तरकारी बिर्तामोडसम्म लग्नु परेको संचालक मध्येका मामा भक्त भुजेलले बताए । स्थानीय तहबाट किसानलाई लक्षित गरि आउने कार्यक्रमहरु कार्यकर्ता पालनपोषण नगरी सबै किसानको हित हुने गरी गर्दा र प्याकेजमा सहयोग गरे किसानहरुका समस्या समाधान हुने उनको अनुभव छ । हिजोका दिनमा सिंचाई सुबिधा नहँदा र सिप भए पनि प्रबिधि आफुसँग नहँदा समस्या हुने गरेके तर अहिले नगरपालिकाले सिंचाईका लागि प्रबिधि हस्तान्तरण गरेपछि उत्पादनमा दोब्वर भएको उनले बताए । तरकारी खेती गर्नाले जीवनस्तर माथि उकास्न पनि सहज हुने उनीहरुको भनाइ छ ।

बजार अभाव हुन नदिने
नगरपालिकामा उत्पादन भएका कृषि उत्पादनहरु बजार नहँुदा कतिपय खेर गई रहेका छन् । बजार अभाव हुन नदिनका लागि पछिल्लो समय नगरपालिका पनि जुटेको छ । नगरपालिकाले जिल्लाकै एकसय पच्चीस वर्ष पुरानो इतिहास बोकेको शनिश्चरे बजारलाई व्यवस्थित गर्न स्थानीय सरकार जुटिरहेको छ । शनिश्चरे बजारलाई विस्तार गरी बजार व्यवस्थित र पर्यटकमैत्री बनाउने कार्यमा नगरपालिका लागि परेको हो ।


प्रत्येक हप्ताको शनिबार लाग्ने साप्ताहिक हाट अर्जुनधारा–८ सातपत्रेमा सारिएसँगै कृषिथोक र पशु बधशालालाई पनि व्यवस्थित गर्न व्यापारिक भवनको निर्माण भइरहेको छ । नगरपालिकालाई काफल इन्भेष्मेन्टका सञ्चालक दव्य रवि पोद्धार र विनोद पोखरेलबाट १० कट्ठा ४ धुर उपलब्ध जमिनमा पूर्व वन राज्य मन्त्री वीरमणी ढकाल,प्रदेश १ का सांसद बिर्ख प्रधान् ,नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला आचार्य खतिवडाले इटा राखेर संयुक्त रुपमा शिलान्यास गरेका छन् ।


डेढ वर्षमा सम्पन्न गर्नुपर्ने उक्त भवनमा प्रदेश सरकारको १ करोड ३० लाख रुपैयाँ र नगरको १ करोड १० लाख रुपैयाँ गरी २ करोड ४० लाखको लागतमा सुबिधा सम्पन्न हुने तरकारी बजार बनाईने बताईएको छ । व्यापारिक भवनका ब्लकहरुमा कृषिजन्य उत्पादनलाई भिन्दै र मासुका लागि भिन्दै भवन निर्माण हुने नगरपालिकाको योजना शाखाले जनाएको छ ।


नगरप्रमुख राना मगरले शनिश्चरेको सब्जी बजारलाई विर्तामोडको कृषिथोक जस्तै व्यवस्थित गरिने बताएका छन् । भवन निर्माण पछि इलामका कृषिजन्य वस्तुलाई आयात गर्न सहज हुनुका साथै स्थानीय कृषिजन्य वस्तुको पनि थप बजारीकरण हुने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : असार २९, २०७६ आईतबार  ११ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]