विर्तामोडमा एकैदिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास
विर्तामोड । विर्तामोड नगरपालिकाले आज एकैदिन तीन वटा वडामा अधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरेको छ । विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीका अनुसार वडा नं ७, ९ र १० मा आधारभूत स्वास्थ्य केन्द्रको लागि भवन निर्माण थालनी गरिएको छ ।

स्थानीय जग्गादाताहरुले जग्गा सहयोगमा गरेपछि नगरले भवनको शिलान्यास गरेको हो । वडा नं. ७ खालवाडी क्षेत्रमा १५ कठ्ठा जग्गा सहयोग प्राप्त भएको छ । वडा कार्यालय समेत निर्माण गर्ने गरी जग्गा प्राप्त भएको प्रशासन शाखाका प्रमुख देवराज कार्कीले जानकारी दिए । यस्तै, वडा नं. ९ मा सोमप्रसाद पाठकले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि २ कठ्ठा ५ धुर जमिन उपलब्ध गराएका छन् । वडा नं. १० मा श्रीप्रसाद शिवाकोटीले २ कठ्ठा जग्गा सहयोग गरेका छन् ।
तीन वटा भवनको प्रदेश सांसद् एकराज कार्की, नगर प्रमुख धु्रव कुमार शिवाकोटीले शिलान्यास गरेका छन् । सो शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहाल, राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।