नेपाललाई १६ अर्ब ८० करोड अनुदान
काठमाडौं । छिमेकी मुलुक भारतले नेपाललाई दिँदै आएको अनुदान सहयोगमा वृद्धि गरेको छ । नयाँ बजेटमा भारतले अघिल्लो वर्षको नेपाललाई दिने रकममा ४० प्रतिशत बढाएको हो ।

भारतले नेपाललाई दिँदै आएको अनुदान ४ अर्ब ८० करोड रुपैयाँले बढाएको हो । शुक्रबार लोकसभामा वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्दै नेपालका लागि १६ अर्ब ८० करोड नेपाली रुपैयाँ (१० अर्ब ५० करोड भारतीय रुपैयाँ ) विनियोजन गरिएको जानकारी दिएकी हुन् । भारतले गत वर्ष नेपाललाई १२ अर्ब रुपैयाँ दिएको थियो ।
यसबर्ष ४० प्रतिशत बढाएर १६ अर्ब ८० करोड नेपाली रुपैयाँ दिने घोषणा वित्त मन्त्री सीतारमणले गरेकी हुन् । मोदी सरकारले गत फेब्रअरीमा घोषणा गरेको अन्तरिम चुनावी बजेटमा नेपालकालाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ (७ अर्ब ५० करोड भारतीय रुपैयाँ ) छुट्याएको थियो । वित्तमन्त्री सीतारमणले शुक्रबार लोकसभामा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट पेश गर्दै छिमेकी देशलाई दिइने सहयोग रकम पनि घोषणा गरेकी हुन् ।
वित्तमन्त्री सीतारमणले ल्याएको बजेटमा भारतबाट सहयोग पाउनेमा नेपाल तेस्रो नम्बरको मुलुक हो । भारतले आफ्नो बजेटमा यस वर्ष सबैभन्दा धेरै भुटानलाई ४४ अर्ब ९६ करोड दिने घोषणा गरेको छ । यस्तै भारतले मोरिससलाई १७ अर्ब ६ करोड सहयोग दिने घोषणा बजेटमा गरेको छ । भारतले अफगानिस्तानलाई ६ अर्ब ४० करोड रुपैयाँ, म्यानमारलाई ६ अर्ब ४० करोड, माल्दिभ्सलाई ६ अर्ब ४० करोड, श्रीलंकालाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब ८० करोड अनुदान सहयोग दिने वित्तमन्त्री सीतारमणले घोषणा गरिन् ।