झापामा राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता शुरु
प्रदीप परियार
बिर्तामोड । झापामा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको काम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमवारबाट परिचय पत्रको लागि विवरण भर्ने काम थालेको हो ।

राष्ट्रिय परिचय पत्रका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले विवरण भरेर उक्त कार्यक्रमको प्रारम्भ गरेका छन् । पहिलो दिन ५ जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गरेको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार दुई किसिमको विवरण दर्ता गरिनेछ ।
राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र फिल्ड कार्यालय झापाले व्यक्तिगत विवरण र जैविक विवरण दर्ता गर्ने जनाएको छ । जिल्ला प्रशासनको मातहतमा रहेको फिल्ड कार्यालयले परिचय पत्र पाउन योग्य ४ लाख ९० हजारको विवरण दर्ता गर्ने छ ।
६ वटा केन्द्र मार्फत व्यक्तिगत विवरण दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । मंगलवारदेखि नागरिकता बनाउन आउँने सबैलाई राष्ट्रिय परिचय पत्रका लागि विवरण भराइने उनको भनाई छ । अहिले विवरण दर्ताको काम शुरु भयो, केहि समयभित्र कार्ड पाइनेछ , पोखरेलले भने – राष्ट्रिय परिचय पत्र बहुउद्देश्यीय प्रकृतिको हुनेछ ।
राष्ट्रिय परिचय पत्र इलेक्ट्रिक कार्ड हुनेछ । बैंक वित्तीय संस्था, लाइसेन्स,निर्वाचन कार्ड र नागरिकता सबैको विवरण सोहि कार्डमा राख्न सकिने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले साउनदेखि १५ वटै स्थानीय तहसँग सहकार्य गरेर राष्ट्रिय परिचय पत्रको काम सहजै नागरिकसम्म पु¥याउने जनाएको छ ।