नयाँ उपन्यास अश्वत्थामाले के भत्काउला ?
बिर्तामोड । पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामा शनिवार बिर्तामोडमा विमोचन गरिएको छ ।

साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले उपन्यास विमोचन गरेका छन् । विमोचनमा साहित्यकार मिश्र वैजयन्तीले भट्टराईको नयाँ कृतिमा पहिलो समिक्षा गरेकी छन् ।
उनले एउटा सर्वमान्य धार्मिकग्रन्थ महाभारतसँग लेखकले विमति राख्दै कृतिको सिर्जना गर्नु गौरवसँगै चुनौतिपूर्ण भएको बताइन् । लेखकले महाभारतका पात्रको भूमिकामाथि प्रश्न उठाउनु चानचुने कुरा नभएको बताउँदै उनले लेखक भट्टराईलाई भनिन्– तपाई वर्तमानबाट भाग्नु भएको त होइन ?
अर्का समिक्षक पत्रकार चन्द्र भण्डारीले अश्वत्थामाले धार्मिक र आध्यात्मिक क्षेत्रमा चोट पु¥याउने टिप्पणी गरेका छन् । सिंङ्गो महाभारतमाथि फरक धार स्थापना गरेर लेखिएको पुस्तक विल्कुल नयाँ र रोचक रहेको बताएका छन् ।
पत्रकार बसन्त बस्नेतले अस्वत्थामा नयाँ खोज भएको टिप्पणी गरेका छन् । उनले महाभारतभित्र रहेको प्रशंगमाथि चलाइएको कलमले नेपाली समाजमा लेखकले नयाँ मान्यताको स्थापित गर्ने बताए । उनका अनुसार अश्वत्थामा यो वर्षकै पढ्नुपर्ने पुस्तक हो ।
लेखक भट्टराईले अश्वत्थामा लेखनले नयाँ चुनौति थपिएको बताउँछन् । धार्मिक क्षेत्रमा कलम चलाउने विषय सजिलो विषय नभएको उनको भनाई छ । धर्मभित्रका पात्रमाथि मलाई चित्त बुझेन, भट्टराईले भने–आधा सत्य लुकाएर कृष्णलाई मैले सत्य मान्न सकिन ।
उनले कृष्ण धरावसीको राधा पढेर अस्वत्थामाको रचना गरेको सुनाए । आफ्नो नयाँ कृतिले धेरै मान्यताहरु भत्काउने लेखकको दावी छ ।
अश्वत्थामालाई सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ ।