बैशाख १५, २०८२ सोमबार

तीन महिनादेखि अलपत्र ७ नेपाली घर फर्किए

यूएई । संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका १२ नेपालीमध्ये ७ जना नेपाली घर फर्किएका छन् । कम्पनीले काम गरे बापतको तलब नदिएपछि खाना, बस्न समस्या भएकाले उनीहरु झण्डै तीन महिनादेखि अलपत्र थिए ।


नवलपरासीका गया चौधरी, सुनसरीका इन्द्र महतो, मोरङका सन्तोष गुरुङ, सानु राई, लालध्वज राई, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे फर्किएका हुन् ।
४ जना मंगलबार र ३ जना बुधबार नेपाल फर्किएका हुन् । समस्यामा परेका उनीहरुले यूएईमा रहेको नेपाली दूतावासमा निवेदन दिएको एक महिनापछि उद्धार भएको हो ।

काठमाण्डौं महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यानपावरमार्फत यूएईको एटोन कन्ट्र्याक्टिङ मेन्टिनेन्स् कम्पनीमा ९ महिना पहिले आएका उनीहरुमध्ये आबुधाबीको मुसाफा ८ नम्बर मजदुर क्याम्पमा ७ जना र बाँकी ५ जना दुबईमा थिए ।
दूतावासमा आफ्नो समस्या राख्न जाने पैसासमेत नभएकाले आफूहरु आबुधाबी जान नपाएको दुबईमा अलपत्र ५ नेपालीले बताएका छन् ।


दुबईमा अलपत्र ५ जना दूतावासभन्दा झण्डै १ सय ५० किलोमिटर टाढा छन् । सबैले राजीनामा बुझाएर बसेको पीडित शिशिर राईले बताए । आफूहरु समस्यामा परेकोबारे आफ्ना आबुधाबीका साथीहरुले दूतावासमा जानकारी गराए पनि दूतावासले सम्पर्क नगरेको उनीहरुको गुनासो छ ।
आबुधाबीमा समस्यामा परेका ७ जनालाई नेपाल फर्काए पनि उनीहरुले काम गरेबापत पाउनुपर्ने रकमसमेत पाएका छैनन् । कम्पनीले १ महिनाको ८ सय दिर्हाम तलब दिए पनि दुई वर्षे करार अवधि पूरा नगरी फर्किन खोजेको भन्दै अन्यत्र काम गर्ने गाउँका साथीसँग ऋण लिएर घर फर्किएको मोरङका सन्तोष गुरुङले बताएका छन् ।


फर्किएका ४ जनालाई कम्पनीले जरिवाना तिराएको र ३ जनालाई एक महिनाको तलवबाट कटाएर कम्पनीले हवाई टिकट उपल्बध गराएको हो । तर ६ महिनामा अतिरिक्त समय गरेको कामको पैसा पनि नदिएको अर्घाखाँचीका हरिप्रसाद गैरेले जानकारी दिए ।
दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले तत्काल कम्पनीसँग सम्पर्क गरी समस्या सुल्झाउन आग्रह गरे पनि रमादान पर्वका कारण थप एक महिना समय लागेको बताए । फर्किएका पीडितहरुले म्यानपावर कम्पनीसँग क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार  २ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]