बैशाख १६, २०८२ मंगलबार

सामाजिक काममा युवा संघ : अभियानबाटै भद्रपुरमा तीन घर हस्तान्तरण

बिर्तामोड । राजनीतिमा क्रियाशिल झापाका युवाहरुले सामाजिक रुपमा उदाहरणीय काम गर्दै गलत दृष्टिकोणलाई चिर्न सफल भएका छन् । राजनीतिमा लागेका युवाहरुलाई गलत परिभाषित गरिदिनेहरुका सामुन्ने सामाजिक काम गरेर सकारात्मक सन्देश दिन सफल भए, भद्रपुरका युवाहरु ।

राजनीतिमा युवाको निराशा र विकर्षण बढ्दै गइरहेको समयमा राष्ट्रिय युवा संघ भद्रपुरमा आवद्ध नेताहरुले उदाहरणीय काम गरेर देखाए । जसको प्रशंसा केन्द्र तहसम्म भइरहेको छ ।

गत वर्षदेखि ‘गरिवको घर, युवाको भर’ नारासहित सुरु गरिएको अभियानबाट तीन वटा परिवारको आवास तयार गरि हस्तान्तरण नै गरिएको छ । राष्ट्रिय युवा संघ भद्रपुरले अगुवाई गरेर गरिव विपन्नका लागि तीन वटा निर्माण गरि हस्तान्तरण गरेको नगर अध्यक्ष दिपक बुढाथोकीले जानकारी दिए । गत हप्ता मात्रै एउटा घर हस्तान्तरण गरिएको थियो, अध्यक्ष बुढाथोकीले भने – यो वर्ष ३ वटा घर बनाएर हस्तान्तरण गरेका छौं । हरेक वडामा १-१ वटा घर बनाइदिने लक्ष्य छ । उनले राजनीतिमा सक्रिय हुनु भनेको बैठक गर्न र भाषण गर्न मात्र नभएको प्रतिक्रिया दिए । राजनीतिक माध्यमबाट सामाजिक काम गर्न सकिन्छ भन्ने लागेका घर बनाउन थालेको उनको धारणा छ ।

बुढाथोकीले आफ्नो कार्यकालको सुरुवातमै नयाँ र रचनात्मक काम गरेर देखाउने प्रतिवद्धता जनाएका थिए । उनको प्रतिवद्धतालाई सफल बनाउन युवा संघका सहकर्मीहरुले साथ दिएका छन् ।

भद्रपुर २ का रणबहादुर साँवालाई पहिलो पटक घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो । बरण्डासहितको २ वटा कोठा, शौचालय निर्माण गरेर पलङ, डाइनिङ टेवल र ग्यासको समेत व्यवस्था मिलाइएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार भद्रपुर ५ मा एकल महिला, वृद्धा नेमो राजवंशी र उनको अशक्त छोरालाई घर हस्तान्तरण गरिएको थियो ।

यस्तै, वडा नं. १० मा स्वर्गीय हिरादेवी दर्जीको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको छ । दर्जीका लागि बनाइएको घर उनको मृत्यु भएपछि छोरा घनश्यामलाई हस्तान्तरण गरियो । सबै घर निर्माणमा ६ लाख हाराहारी खर्च भएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

घर निर्माण अभियान थालेपछि युवा संघका नेताहरुले घर निर्माणका सामग्रीसहित आर्थिक रुपमा समेत सहयोग गरेका थिए । ढुंगा,इटा, सिमेन्ट, रंङ, घरायसी फर्निचर लगायतका सामानहरु सहयोग प्राप्त भएको थियो, उनले थपे – विपन्नका लागि घर बनाइरहेको भन्दा सबैले सहयोग नै गर्नुभयो ।

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]