दुबई करातेँमा नेपालीले जिते ८ पदक
काठमाडौं, १६ बैशाख । दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ६ स्वर्ण र दुई रजत गरि कुल ८ पदक जितेको छ ।
नेपाल सितोरियो कराते संघका सचिव तथा टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण पदक जितेका हुन् ।
अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले भने रजत पदक हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका थिए ।
सो जीतसँग टोली आज मंगलबार स्वदेश फर्किदैछ । प्रतियोगितामा नेपालसहित भारत, युएई, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी गराए ।