बढाइयो अन्डाको मूल्य
चितवन । पछिल्लो समय निरन्तर घटेको अन्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्य समेत पाउन नसक्दा चिन्तित बनेका किसानले अन्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को ५२५ रुपैयाँसम्म पुगेको अन्डाको मूल्य घटेर ३५० मा झरेको थियो । हाल मूल्य वृद्धि भएर ४५० रुपैयाँ पुगेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, आइतबार (वैशाख १४)देखि लागु हुने गरी ठूलो अन्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० गोटा) ४३०, मध्यमको ३८० र ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ । ठूलो अन्डाको मूल्य यसअघि ३५० रुपैयाँमा झरेको थियो ।
शनिबार (वैशाख १३) सम्पन्न संघको छलफलबाट अन्डाको मूल्य बढाउने निर्णय गरिएको उनले जानकारी दिए ।
एक्सएल अन्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) तीन हजार १४०, ठूलो अन्डा तीन हजार र मझौलाको दुई हजार ६५० रुपैयाँ कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए ।
नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ । अन्डाको मूल्य उच्च हुँदा ठूलोको प्रतिपेटी तीन हजार ६७५ रुपैयाँसम्म पुगेको थियो ।
पोखरेलले भने, “गर्मीका कारण अन्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अन्डाको मूल्य बढेको हो ।” उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार, अन्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । “अहिलेको अवस्थालाई हेर्दा अन्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,” उनले भने, “अन्डाको मूूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएको छ ।”
नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् । रासस