भूकम्पीय प्रकोपको जोखिममा नेपाल
सन् १९९४ देखि सन् २०२४ सम्म ४ रेक्टर स्केल भन्दामाथिका जम्मा १२५४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले सूचीकृत गरेको छ।
– प्रकाश रेग्मी
परिचय
यस लेखका लागि विभिन्न अनलाइन पोर्टलका लेखहरू, नेपालको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले पूर्ण आउट-अफ-द-बक्स सफ्टवेयर समाधान केन्द्रलाई उपलब्ध गरएको सन् १९९४ देखि सन् २०२४ सम्मका ४ रेक्टर स्केलभन्दा माथीका १२५४ वटा भूकम्पका केन्द्रहरू र तिनका आवृत्तिहरुलाई माइक्रोसफ्टको एक्सेल र अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको स्पलाइन कम्प्युटर सफ्टवेयरको प्रयोग भएको छ।
भूकम्प भनेको पृथ्वीको सतहमा अचानक हुने हलचल नै हो। पृथ्वीको आन्तरिक भाग धेरै चापको कारण अत्यन्त तातो अवस्थामा रहेको हुन्छ। त्यस क्षेत्रका चट्टानहरू पग्लिएको अवस्थामा रहेका हुन्छन् र त्यसलाई म्याग्मा भनिन्छ। पृथ्वीभित्रको अत्यधिक ताप र चापले गर्दा तातो म्याग्मामा गति उत्पन्न हुन्छ। पृथ्वीको आन्तरिक भागमा हुने त्यो गतिले पृथ्वीको परतमा रहेका सात वटा टेक्टोनिक प्लेटहरूमा पनि गति पैदा हुन्छ। कहिले त्यो गतिले छुट्टाछुट्टै रहेका टेक्टोनिक प्लेटहरूलाई एक-आपसमा नजिकतिर ल्याउँदछ भने कहिले टाढा तिर घकेल्छ। यसरी यी सात वटा प्लेटहरू निरन्तर चलायमान हुन्छन्। यसो हुँदा पृथ्वीको परतमा वा सतहमा रहेका चट्टानहरूमा तनाव उत्पन्न भई चट्टानहरू अचानक भाँचिन्छन् वा चिप्लन्छन् र पृथ्वीको सतहमा कम्पीय तरंगहरू उत्पन्न हुन जाँदा जमिन हल्लिन्छ। यसका अलावा पृथ्वीको कुनै भागमा ज्वालामुखी विस्फोट हुँदा पनि जमिन हल्लिन्छ।
नेपालको हिमालय क्षेत्रमा लाखौं वर्षदेखि नियमित रूपमा सक्रिय रहेको संपिडन बलको कारण भारतीय प्लेट र तिब्बती प्लेटबीच टक्कर भइरहँदा यी दुई प्लेटहरूको सिमानामा रहेको नेपालको अवस्थितिले यस क्षेत्र भूकम्पीय रूपमा सक्रिय हुँदै आएको छ।
वि.सं. १९९० माघ २ गते अर्थात जनवरी २, १९३४ मा आएको महाभूकम्पले काठमाडौं भक्तपुर र पाटनमा ठूलो क्षति पुर्याएको कुरा लेखहरूमा पढ्न पाइन्छ। त्यसै मितिलाई आधार मानेर नेपालमा हरेक वर्षको माघ २ का दिन भूकम्प दिवस मनाइन्छ। २०४५ भदौ २० गते अर्थात् सेप्टेम्बर ५, १९८८ मा एकाबिहानै यो प्रेरणता आफैं खाटमा नै सुतिराहेको बेला एक्कासी खाट हल्लाएपछि हतार-हतार भाइ र बहिनीलाई समेत लिएर खाटमुनि लुकेको सम्झना अहिले पनि ताजा छ। तर, सानै उमेरमा त्यो ज्ञान कहाँबाट आयो भन्ने जानाकारीमा छैन। वि.सं. २०७२ वैशाख १२ गते तदानुसार २५ अप्रिल २०१५ दस वर्ष अगाडिको ठिक आजकै दिन शनिबार परेकाले ढिलो गरी स-परिवार खाना खाइरहेको बेला लगभग १२ बजे तिर घर हल्लिँदा सबैभन्दा पहिला आमा भागेर बाहिर पुगेको अनुभवले मान्छेले सबैभन्दा बढी माया आफैंलाई गर्दो रहेछ भन्ने शिक्षा पनि पाएको छु।
नेपालमा वैशाख १२, २०७२ तदनुसार अप्रिल २५, २०१५ मा गोरखा जिल्लाको बारपाकमा गएको ७.८ रेक्टर स्केलको भूकम्पले व्यापक विनाश गरेको थियो। त्यो घटनाले झन्डै ९ हजार मानिसको ज्यान लिनुका साथै भवन र पूर्वाधारमा व्यापक क्षति पुर्यायो। देशको आन्तरिक स्रोतले उक्त क्षतिको व्यवस्थापन गर्न नसकेर नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायहरूसँग सहयोगको लागि अपिल गरेको थियो।
नेपालमा केन्द्रबिन्दु भएर गएका भूकम्पहरुको आवृत्ति
सन् १९९४ देखि सन् २०२४ सम्म ४ रेक्टर स्केल भन्दामाथिका जम्मा १२५४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले सूचीकृत गरेको छ। त्यसमा ४ रेक्टर स्केलदेखि ४.९ रेक्टर स्केलका भूकम्प १०६२, ५ रेक्टर स्केल देखि ५.९ रेक्टर स्केलका भूकम्प १७३, ६ रेक्टर स्केलदेखि ६.९ रेक्टर स्केलका १६, र ७ रेक्टर स्केल भन्दामाथि ३ वटा भूकम्प रहेका छन्। जसमा ७.६ रेक्टर स्केलको भूकम्प गोर्खा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर आजको ठिक १० वर्ष पहिले गएको थियो।
वि.सं. २०४५ भदौ २० गते तदानुसार अगस्ट २० १९८८ मा उदयपुर जिल्लामा केन्द्रबिन्दु भएर गएको ६.५ रेक्टर स्केलको भूकम्पले नेपालको पूर्वी क्षेत्रमा ठूलो नोक्सान पुर्याउनाको साथै ७२१ जनाको ज्यान गएको थियो र एक लाख भन्दाबढी घरमा क्षति पुगेको थियो। त्यस्तै, सन् २००१ मा भारत र पाकिस्थानको सीमा क्षेत्रमा रहेको भारतको भुजमा गएको ६.९ रेक्टर स्केलको भूकम्पले पश्चिम नेपालमा ठूलो मात्रामा नोक्सान पुर्याएको थियो। सेप्टेम्बर १८ २०११ मा सिक्किममा आएको ६.८ रेक्टर स्केलको भूकम्पले पुन: पूर्वी नेपालमा नोक्सान पुर्एको थियो।
त्यस्तै, १० वर्ष पहिले गोरखाको बारपाकमा आएको ७.८ रेक्टर स्केलको झन्डै ९ हजारको मृत्यु हुनाको साथै अर्बौंको नोक्सान भएको थियो। त्यसपछि क्रमश: ६ रेक्टर स्केल भन्दामाथिका ५ वटा भूकम्पको चपेटामा नेपाल परेको तथ्याङ्कले देखाउँछ। त्यस्तै, तिब्बतको डिङ्ग्ये काउन्टीको जनवरी ७ २०२५ मा गएको ७ रेक्टर स्केलको भूकम्पको धक्का उत्तर पूर्व नेपालले महसुस गरेको थियो।
नेपालमा भूकम्पको स्थानीक वितरण
नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो। नेपाल विश्वका अन्य देशहरूको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं उच्च स्थानमा रहेको विभिन्न अध्ययनहरूले जनाएका छन्। २०७२ वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको बारपाक थियो। यो ठाउँ नेपालको पूर्व-पश्चिम फैलावटको हिसाबले झन्डै बीच भागमा पर्दछ। सन् १९९४ देखि सन् २०२४ सम्म गएका १२५४ वटा भूकम्पका केन्द्रबिन्दुलाई नेपालको नक्सामा राखेर हेर्दा नेपालको पहाडी र हिमाली भागमा पूर्वदेखि पश्चिम सबैतिर भूकम्पका केन्द्र बिन्दुहरू वितरित भएको देखिन्छ। यसो भए तापनि अधिकांश भूकम्पका केन्दहरू तीन छुट्टाछुट्टै पकेट क्षेत्रमा वितरित भएको देखिन्छ।
भूकम्पका केन्द्रबिन्दुहरूको संघनताले पृथ्वीको आन्तरिक र सतहको बनावट परिवर्तन गर्ने भए तापनि मानवीय क्षति र मानव निर्मित संरचनाहरूको क्षतिमा भने भूकम्पको तीव्रताले बढी प्रभाव पारेको हुन्छ। त्यसैले, कुन ठाउँमा कति संख्यामा भूकम्प गयोभन्दा पनि कति रेक्टर स्केलको भूकम्प भन्ने कुराले बढी महत्त्व राख्दछ। तर, धेरै भूकम्प गइरहने स्थानहरूमा कहिलेकाहीँ ठूला भूकम्प पनि जान सक्ने सम्भावनालाई भने नकार्न मिल्दैन।
नेपालमा भूकम्पका सबैभन्दा बढी केन्द्रहरू काठमाडौंभन्दा उत्तरपूर्वका जिल्लाहरू सिन्धुपाल्चोक (१८४), दोलखा (२०६) र संखुवासभा (१९) मा देखिन्छ। सिन्धुपाल्चोक र दोलखा बढी संख्या भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन् भने संखुवासभा बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु भएको जिल्ला हो।
काठमाडौंभन्दा उत्तर पश्चिमका जिल्ला नुवाकोट (४२), रसुवा (४८), धादिङ (५८) र गोरखा (५१) बढी संख्यामा भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन्। ती चार जिल्लाहरूमध्ये गोरखा र धादिङ बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु भएका जिल्ला हुन्। यसरी काठमाडौं उपत्यका भूकम्पको जोखिममा देखिन्छ।
पश्चिम नेपालका पहाडी जिल्लाहरू जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पा तुलनात्मक रुपमा मध्यम संख्यामा भूकम्पका केन्द्र भएका जिल्ला देखिन्छन्। त्यसो भए तापनि त्यस क्षेत्रमा बढी तीव्रताका भूकम्पका केन्द्रबिन्दु रहेका छन्।
सुदूरपश्चिमका पहाडी र हिमाली जिल्ला बझाङ (७४), बाजुरा (६९) र हुम्ला (३४) भूकम्पबाट बढी जोखिममा रहेका जिल्ला हुन्। बझाङ र बाजुरा धेरै संख्यामा भूकम्पका केन्द्र भएका जिल्ला हुन् भने हुम्ला बढी तीव्रताको भूकम्पको केन्द्रबिन्दु भएको जिल्ला हो। यस जिल्लामा नोभेम्बर २७, २००१ र डिसेम्बर ८, २००८ मा क्रमस ५.७ र ६.३ रेक्टर स्केलका भूकम्प गएको रेकर्ड छ।
भूकम्पबाट हुने क्षति न्यूनीकरण विधि
भूकम्प आफैंले मान्छे मार्दैन। तर, भूकम्पबाट आएका कम्पनका कारण मानिसले निर्माण गरी प्रयोगमा ल्याएका भौतिक संरचनाहरू एकाएक भत्किन गई त्यसबाट खसेका भग्नावशेषहरूको ठक्करबाट लागेका चोटपटकले मानिस घाइते हुनाको साथै मृत्यु पनि हुन सक्छ। त्यस्तै प्रक्रियाबाट २०७२ वैशाख १२ को गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पले नेपालमा झन्डै ९ हजार व्यक्तिको ज्यान जानुको साथै अर्बौ रुपैयाँ बराबरको मानव निर्मित संरचनाहरूमा क्षति भएको थियो।
• भूकम्प आउने समय र स्थान कुनै निश्चित हुँदैन। यो जुनसुकै बेला आउन सक्ने हुनाले विद्यालय तहबाटै यसबाट बच्ने उपायको बारेमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न आवश्यक छ।
• स्थानीय तहमा समय समयमा स्थानीय स्वयंसेवकबाट सचेतनाका कार्यक्रमहरू निश्चित समयको अन्तरालमा नियमित गर्नु पर्दछ।
• घर-परिवार र कार्यालय तहमा नियमित प्रयोग हुने सामग्रीहरू, विशेषगरी अग्ला र बढी तौल भएका वस्तु, जुन खसेमा जीवनको लागि जोखिम निम्त्याउँछन्, तिनीहरू जस्तै: बुककेसहरू, फाइल क्याबिनेटहरू, भण्डारण सेल्फहरू, कम्प्युटरहरू, मनिटरहरू, टेलिभिजनहरू बलियो गरी राख्न वा टाँस्न गैर-संरचनात्मक न्यूनीकरणका उपायहरू अवलम्बन गर्नु पर्दछ।
• पालिकास्तरबाट भूकम्प निरोधक संरचनाहरू बनाउन निर्देशिका तयार पारी स्थानीय जनताहरूबीच जानाकारी गराउने, यस सम्बन्धित नीति नियम बनाउने र लागू गर्नाको साथै नियमित अनुगमन गर्ने।
• संघीय सरकारबाट भूकम्प सम्बन्धित सूचनाहरू नियमित प्रसारण गर्ने, नीति निर्माण गर्ने, त्यसलाई लागू गर्ने र भूकम्प गइसकेपछि पुन:निर्माणको काममा आवश्यक सहयोग गर्ने।
(चितवन भरतपुर, हाल अमेरिका)