शिवसताक्षीका २ सय माताहरुलाई सम्मान
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई झुल वितरण गर्दै सम्मान गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति सचेत रहँदै स्वास्थ्य र मायाको चिनोस्वरूप ज्येष्ठ माताहरुलाई सम्मान गरिएको हो ।
शनिवार शिवसताक्षी वडा नं. ६ को ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रम गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष मनोजखुलाल, वडासदस्य गोमा रिजाल लगायत जनप्रतिनिधहरुले झुल वितरण गर्नु भएको थियो ।
झुल वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले वडाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रम राखेर सराहनीय काम गरेको जानकारी दिनु भयो । ज्येष्ठ नागरिकहरू हाम्रो समाजका जिवन्त इतिहास हुन् उहाँहरूको स्वास्थ्य र सम्मानमा कुनै कमी हुन दिनु हुँदैन भन्दै नगरप्रमखु थोप्राले बृद्ध अवस्थामा रहेका माताहरुलाई माता तीर्थ औंशीमा उहाँहरुको सु–स्वास्थ्य र दीर्घ जीवनको शुभकामना दिनु भएको थियो । उहाँले वडा नं. ६ मा निर्माण गरिएको ज्येष्ठ नागरिक भवनमा नगरले शिलिङ लगाइदिने घोषणा गर्नु भयो ।
त्यस्तै कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्कील आमाबुबाको आशीर्वादले नै हाम्रो प्रगति सम्भव भएको भन्दै उहाँहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य भएको बताउनु भयो । आमाहरुसँग उहाँको सुख दुखका कुराहरु सुनेर हामीलाई थप अघि बढ्न प्रेरणा मिल्ने र आमा बुबाहरुका समस्याहरुलाई बुझने मौका मिल्ने वडाध्यक्ष खुलालको भनाई थियो ।
वडाको विनियोजित ९४ हजार बजेटबाट २ सय थान झुल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यक्रममा स्वागत मन्यव्य राख्दै वडा सदस्य गोमा रिजाले आमा एउटा यस्तो शब्द, जसको गहिराइ नाप्न शब्दहरु नै अपुग रहेको बताउनु भयो । आमा धर्ती हुन् जसले सबैलाई अँगालोमा राख्छिन्, आमा सृष्टिकर्ता हुन्, जसले जीवन दिन्छिन, हुर्काउँछिन, मार्ग देखाउँछिन आमा बिना संसार अधुरो हुने बताउनु भयो । माता तीर्थ औंशीमा वडाका ज्येष्ठ आमाहरुलाइ घर घरमा गएर भेट्न असम्भव भएर एकै ठाउँमा ज्येष्ठ आमाहरुलाई भेला गरिएको जानकारी दिनु भयो ।
माता तीर्थ औंशी भएकाले आजै माताहरुलाई वडाले दीर्घायुको कामना गर्दै सम्मान गरिएको उहाँको भनाई थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक वडा नं. ६ का अध्यक्ष चक्रप्रसाद लुईटेल, गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडासचिव कमला कुमारी भेट्वालले गरेकी थिइन् ।