बैशाख १२, २०८२ शुक्रबार

अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिदैछ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताउनुभयो । यसले राज्य र नागरिकका बिचमा द्वन्द्व सिर्जना गरेको उहाँको धारणा छ ।

‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उहाँले भन्नुभयो ।
आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बिच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने उहाँको धारणा छ । समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्नेमा उहाँले जोड दिनुभयो । नकारात्मक समाचारले समाजलाई गलत दिशा तर्फ लैजाने उहाँको धारणा छ । ‘ नकारात्मक समाचारलाई समाजलाई गलत दिशा तर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर हामीले समाचार सम्प्रेषण गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

उहाँले पत्रकार सधैँ सिर्जनात्मक हुनु पर्ने बताउनुभयो । त्यसो भएन भने पत्रकार नसुनिने र नदेखिन पात्र बन्ने पोखरेलको धारणा छ । ‘ पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामर्थ्य देखाउनु पर्दछ’, पोखरेलले भन्नुभयो ।
सूचनामा बल हुने बताउँदै उहाँले यसको लागि बलियो नेटवर्क हुनु पर्ने बताउनुभयो । पोखरेलले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रह गर्नुभयो ।

नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएका उहाँले बताउनुभयो । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने उहाँको धारणा छ । ‘के देखाउने भन्ने कुराको आधारमा रिसर्च हुने गर्दछ, त्यसले हाम्रो समाजलाई विसङ्गति तर्फ लैजान्छ’, उहाँले भन्नुभयो ।

नेपालका सबै सूचनामा पत्रकाररतको पहुँच भयो भने कुन चिज प्रायोजित हो र कुन वास्तविक हो भन्ने कुरा सार्वजनिक हुने उहाँको भनाई छ । उहाँले पत्रकारलाई आफ्नै सूचनाको जगमा उभिन आग्रह गर्नुभयो ।
अहिले एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दी भएको उहाँले बताउनुभयो । त्यो घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको उहाँले प्रष्ट पार्नुभयो । एमालले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उहाँको धारणा छ । ‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उहाँले भन्नुभयो ।

लोकप्रियवादले समाजलाई दुर्घटना तर्फ लैजाने उहाँले बताउनुभयो । यसले देशलाई विकास र समृद्धि दिन नसक्ने उहाँको धारणा छ । लोकप्रियवाद समस्याको समाधान नभएको उहाँले स्पष्ट पार्नुभयो । त्यही कुरा एमालेले भन्दा एमाले विरुद्ध कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको उहाँले बताउनुभयो । ‘जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ, त्यसैले एमाले माथि प्रहार भइरहेको छ’, उहाँले भन्नुभयो ।

समाजलाई भ्रमबाट मुक्त गराउने र सत्य कुरा प्रवाह गर्ने काम पत्रकारले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसमा विकास भएको नकारात्मक भावनालाई चिर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सूचना र प्रविधिको गलत प्रयोगले समाजलाई गलत दिशा तर्फ लगेको बताउँदै उहाँले त्यसबाट देशलाई सही बाटोमा ल्याउने सामर्थ्य नेकपा एमालेले मात्रै राख्ने उहाँले दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको खुमलटारमा जारी बैठकले २०८२ साललाई संगठनको प्रशिक्षण वर्ष घोषणा गरेको छ । संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता जारी बैठकमा नेकपा एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायत सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार  १२ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]