बैशाख १२, २०८२ शुक्रबार

बिर्तामोडबाट दुई दिनमा तीन जनाको उद्धार

बिर्तामोड । मानवसेवा आश्रमले बिर्तामोडबाट दुई दिनमा तीन जनाको उद्धार गरेको छ । सोमवार भद्रपुर रोडबाट आमा छोराको उद्धार गरेको मेचीनगर–४ स्थित मानवसेवा आश्रमले मंगलवार पनि थप १ जनाको उद्धार गरेको हो ।

बितामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अगुवाईमा उद्धार कार्य भइरहेको छ । मंगलवार बिर्तामोड– ९ पटुवाबारीबाट ९२ वर्षीय दलबहादुर विसुंखेको उद्धार गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिए । विसुंखेलाई सोही ठाउँका राजेन्द्र सिटौलाले ६-७ वर्षदेखि आश्रय दिइरहेका थिए । हिडडुल गर्न नसक्ने विसुंखेलाई वर्षौदेखि रेखदेख गर्दै आएको सिटौला परिवारले आश्रमको प्रतिनिधिहरुलाई जिम्मा लगाएको छ ।

१५ वर्षअघि गाउँघरमा काम गर्दै डुली हिड्ने विसुंखेलाई सिटौला परिवारले गाँस, वासको व्यवस्था मिलाएको थियो । सिटौला भन्छन्, हामीले सकेसम्म रेखदेख गरेर राखेका थियौं, अब आश्रमले स्याहार गर्नेछ ।

आश्रमकी सेवक गंगा थापाले सडक मानवहरुको उद्धारमा क्रियाशिल रहेकी जानकारी दिइन् । उनका अनुसार गत मंसिरबाट औपचारिक रुपमा सञ्चालनमा आएको आश्रममा हाल ४५ जना सडक मानवहरुको उद्धार गरेर राखिएको छ । दैनिक रुपमा उद्धारको काम चलिरहेको उनको भनाई छ ।

थापाको टोलीले सोमवार बिर्तामोड–४ स्थित श्रीप्रसाद ओडारीको घर पछाडि चेपमा वर्षौदेखि बसोबास गर्दै आएका आमा छोरालाई उद्धार गरेका थिए ।

बिर्तामोडका उपप्रमुख संग्रौलाले बिर्तामोडलाई सडक मानवमुक्त बनाउने बताए । उनले आश्रमको आवश्यकता भएका नागरिकहरुको खोजी गरेर उद्धार कार्यलाई निरन्तरता दिने बताएका छन् । झापाको मेचीनगरस्थित आमडाँगीमा रहेको मानवसेवा आश्रमलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको उनको भनाई छ । बिर्तामोडबाट मात्रै १८ जनाको उद्धार भइसकेको जानकारी दिए । आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, सडक मानवहरुको लागि खानपानमा सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]