सहिद विरेन मार्गको आजदेखि कालोपत्रे सुरु
मेचीनगर, ७ बैशाख । मेचीनगरको अर्को गौरवको योजना सहिद विरेन मार्गको पनि आजदेखि कालोपत्रे लगाउन सुरु गरिएको छ ।
मेचीनगर–९, मागुरमाडी स्थित थोप्लेविरान समुदायिक वन छेउ सिरानबाट खुट्टेडाँगी चोकसम्म आउने सहिद विरेन मार्गको सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको हो ।
मेचीनगर नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखी थोप्ले विरानसम्म साढे पाँच किलोमिटर सडक निर्माण हुँदैछ ।
नगरपालिकाका ईन्जिनियर जीवन भट्टराईले उक्त सडक गत बैशाखमा सम्झौता गरेर एनएनटी डेभलोपर भारतको पटना कम्पनीलाई ठेक्का दिएको बताए ।
उनका अनुसार आइतबारदेखि कालोपत्रे गर्न सुरु गरिएको छ । ११०० मिटर मध्ये दैनिक ३०० मिटर कालोपत्रे हुने छ । क्रमशः कालोपत्रे हुँदै जानेछ ।
भट्टराईका अनुसार आगामी सन १५ जुलाई २०२५ मा सक्ने गरी सहिद विरेन मार्गको ठेक्का २७ करोड २१ लाख ३ हजार ९३१ रुपैयाँ ७९ पैसामा सम्झौता गरिएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले थोप्लेविरानदेखि धुलाबारी चोकसम्मको साढे ५ किलोमिटर ड्रेनसहित गुणस्तरीय अस्फाल्ड सडक निर्माण हुने बताए ।
सडकका केहि प्राविधिक समस्या सामाधन गर्दे जाने उनको भनाई छ । उक्त सडक निर्माणका लागि जनप्रतिनिधि र स्थानीय नगरवासीले सहयोग गरेको उनले बताए ।
आजदेखि सुरु भएको कालापत्रे सडकको नगर प्रमुख बुढाथोकी, ९ नम्बर वडाका वडा सदस्यहरु राजन खड्का, सुष्माडोली कार्की, धनबहादुर श्रेष्ठ, करुणा राजबंशी, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल लगायत स्थानीयबासीले अवलोकन गरेका थिए ।
यसैगरी नगरपालिकाको गौरवको योजना अन्तरगत काँकरभिट्टा स्थित सूर्योदय मार्गको काम पनि धमाधम भइरहेको छ ।
सूर्योदय मार्ग अन्तरगतको सहिद विश्वनाथ घिमिरे मार्गको काँकरभिट्टादेखि बाहुनडाँगी बजार सम्मको सडकको कालोपत्रे गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए ।