शहीद सुरज विश्वास र राजन गिरीको १९ औं स्मृति दिवस
भद्रपुर । तात्कालिन राजा ज्ञानेन्द्र शाहाको सक्रिय शासन कालमा वि.सं. २०६३ साल वैशाख ६ गते शाही नेपाली सेनाले हानेको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिनलाई सम्झना गर्दै शनिबार शहीद सुरज विश्वास र राजन गिरीको १९ औं स्मृति दिवस मनाइएको छ ।
शहीद सुरज विश्वास स्मृति पार्क सञ्चालक समितिले पार्क मै आयोजना गरेको स्मृति दिवस मनाइएको हो । शहीद सुरज विश्वासको अर्धकदको प्रतिमामा माल्यार्पण गरी मौन धारण गरेर शुरु गरिएको कार्यक्रममा भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलले त्यो बेलाको सम्झना गर्दै शाही कालका जिविस सभापति राजेन्द्र लिङदेनसमेतको निर्देशनमा सेनाले चलाएको गोलीकाट हाम्रा होनाहार योद्धाहरु सुरज विश्वास र राजन गिरीले ज्यान गुमाउनु परेको बताउनुभयो ।
‘यो विशिष्ठ परिस्थितिमा तीनै तहका सरकारहरुले जनतामा प्रवाह गर्ने सेवालाई सरलिकृत गर्नु पर्ने चुनौति हाम्रो सामु रहेको’ बताउनुहुँदै नगरप्रमुख पोखरेलले भन्नुभयो ‘हामी हाम्रो सीमित श्रोत र साधनका बाबजुत जनताका अधिकार स्थापित गराउने कार्यमा लागिरहेका छौं । संघीय ऐन कानुनहरु समयमा बन्न नसक्दा केही समस्या भने भएको छ ।’
कार्यक्रममा नेकपा एमाले झापाका उपसचिव अशारु राजवंशीले निरंकुश राजतन्त्रको समुल नष्ट गर्न संयुक्त आन्दोलनमा सुरज विश्वास र राजन गिरीले ज्यान गुमाउनु परेको बताउनु भयो । उहाँले जनताले प्राण आहुति दिएर स्थापना गरेको गणतन्त्रमा हिजोका तिनै हत्याराका नाइकेहरु टाउको उठाउन थालेको उहाँले बताउनु भयो ।
घटनाक्रमलाई मध्य नजर गर्दै लोकतन्त्रवादी शक्तिहरु एकजुट भएर जनतामा सेवा प्रवाह गर्न लागि परेको बताउनु हुँदै आदिवासी नेता राजवंशीले भन्नुभयो, ‘शहीदहरुका सपना हामी खेरजान दिने छेनौ ।’
शहीद सुरज विश्वास स्मृति पार्क सञ्चालक समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष संध्या हाडाले स्वागत र डिल्ली पोखरेलले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य शिवकुमार राजभण्डारी, कोशी सल्लाहकार माधव विद्रोही, लक्ष्मण पोखरेल, एमाले जिल्ला सदस्यहरु ब्रम्हलाल ढुङ्गाना, कालिचरण बस्नेत, बासु वनलगायतका नेताहरुको उपस्थिति रहेको नगर कमिटी सदस्य अभि प्रधानले जानकारी दिनुभयो ।
२०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम घेराउ गर्न हजारौँ झापाली जनता हिँडेर पुगेका थिए । शाही सत्ता तथा राजतन्त्रबाट आक्रान्त त्यो जनलहरमा थिए राजन गिरी र सुरज विश्वास । उनीहरूसँगै जनताले निषेधित क्षेत्रको घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए । निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरू जनलहर हेरेर आत्तिए ।
सोही क्रममा तत्कालीन शाही सेनाले प्रदर्शनकारीमाथि बर्बर दमन गर्न सुरु ग¥यो । सोही बेला झापाली दुई युवकलाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरे ।