बैशाख ६, २०८२ शनिबार

कोशी प्रदेशमा पहिलो र बृहत विज्ञान प्रदर्शनी गर्दै एमाले

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आयोजना गरिने विज्ञान प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कोशी प्रदेशका १४ वटै जिल्लाबाट विद्यार्थीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । “दैनिक ३३ हजार विद्यार्थी सहभागी हुने अनुमान छ”, उहाँले भन्नुभयो, “कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरेका छौं ।”

प्रदर्शनीमा एसईईदेखि कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता रहने जनाइएको छ । कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने हुनेछन् । विज्ञान प्रदर्शनीमा पाँच सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।

विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथोले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् भने अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीको विज्ञान तथा प्रविधि विभागले पहिलो पटक यस प्रकारको काम गर्न लागेको बताउनुभयो । उहाँले पार्टीका सबै विभागलाई चलायमान बनाउन पनि कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

“आजको विज्ञान प्रविधिको युगमा आईटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कोशी प्रदेशलाई समृद्ध बनाउनुका साथै विश्वमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न जरुरी छ ।”
कार्यक्रमको आयोजना एमालेले गरे पनि कार्यक्रम विचार केन्द्रित नभई सबैको साझा कार्यक्रमका रुपमा आएको विभाग प्रमुख पोखरेलको भनाई छ । सबैको सहकार्य र समन्वयमा कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]