बिर्तामोडमा भोलीदेखी अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता सुरु हुँदै
बिर्तामोड । प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । झापाको बिर्तामोडमा भोलीदेखि हुन गइरहेको प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक संस्थाका प्रमुख एवम् तेक्वान्दो प्रशिक्षक दिपेन धिमालले जानकारी दिए ।
बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङको आयोजनामा चैत २९–३० गते हुन गइरहेको प्रतियोगिता बाल्मिकी स्कुलमा सञ्चालन गरिने धिमालले जानकारी दिए ।
अन्तर्राष्ट्रिय कोच धिमालका अनुसार प्रतियोगितामा सातवटै प्रदेशबाट खेलाडीहरु, अफिसियल निर्णायकहरु झापा आइसकेका छन् । उनीहरुलाई बिर्तामोड क्षेत्रमा बस्ने व्यवस्थापन मिलाइएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ । तेक्वान्दो खेलमार्फत खेलाडीहरुलाई खेलप्रतिको रुचि, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्न आयोजना गरिएको प्रतियोगिताले स्वस्थ र जिम्मेवार युवा निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै, पुम्सेतर्फ महिला–पुरुष दुवैको १० वर्षमुनि, १२ वर्षमुनि र १४ वर्षमाथि उमेर समूहको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एक–एक जना महिला–पुरुषले २०–२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका निर्णायक (रेफ्री) सहभागी भएका छन् । प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ ।
पर्यटकीयस्थलहरको प्रचारप्रसार, स्थानीय व्यावसाय र पर्यटन व्यावसायलाई थप प्रवद्र्धनमा प्रतियोगिताले सहयोग गर्ने बताइएको छ ।