बैशाख ५, २०८२ शुक्रबार

शनिश्चरे खुल्ला नृत्य प्रतियोगिताको विजेतालाई ५१ हजार

बिर्तामोड । झापाको अर्जुनधारास्थित शनिश्चरेमा नव वर्ष २०८२ को अवसरमा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । बैशाख १ गते अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा उक्त प्रतियोगिताको तयारी गरिएको हो ।

शनिश्चरेमा रहेको ए वान डान्स एकाडेमीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

स्थानीयस्तरमा रहेका प्रतिभाहरुको पहिचान र प्रबद्र्धन गर्दै सांस्कृतिक विविधताको प्रबद्र्धनसँगै नेपाली नृत्य परम्परालाई जीवित राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

युवाहरुलाई सिर्जनात्मक एवम् सकारात्मक गतिविधिमा संलग्न गराउने तथा समुदायमा मनोरञ्जनात्मक र प्रेरणादायक वातावरण सिर्जना गर्नु थप उद्देश्य रहेको उक्त प्रतियोगिता अर्जुनधारा–८ नं. वडा कार्यालयको समन्वयमा सञ्चालन हुने एकाडेमीका सञ्चालक अशोक धिमालले जानकारी दिए ।

आयोजकका अनुसार नेपाली गीतमा एकल, युगल, समूहमा नृत्य प्रस्तुत गर्नुपर्नेछ । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई नगद पुरस्कार क्रमश ५१ हजार, २१ हजार र ११ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न निर्णायकहरु कोशी प्रदेश, काठमाण्डौं र छिमेकी देश भारतबाट छनौट गरिने बताइएको छ । प्रतियोगितामा सहभागिताको दर्ता शुल्क पाँच सय रुपैयाँ तोकिएको छ । प्रतियोगितामा झापासहित काठमाडौं, सुनसरी, मोरङ, इलाम, पाँचथर लगायतका जिल्लाबाट पाँच सयभन्दा बढी प्रतियोगीहरुको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताका लागि पाँच लाख ५० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । उक्त स्रोत व्यवस्थापनका लागि अर्जुनधारा नगरपालिका, वडा कार्यालयहरु, स्थानीय संघ–संस्था र दाताहरुसँग समन्वय गर्ने आयोजकले तयारी छ । प्रतियोगिताबाट बचत भएको रकमलाई नृत्य गर्न इच्छुक विपन्न बालबालिकाहरुको नृत्य प्रशिक्षणमा लगानी गरिने बताइएको छ ।

कार्यक्रममा नृत्य विधाका अग्रज कलाकारहरु अशोक कुर्मी, कृष्णबहादुर तामाङ ‘डिस्को’ र भक्ति सिटौलालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । नृत्य प्रतियोगिताले स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने वडा नं. ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताएका छन् । उनले कलाकारलाई प्रोत्साहनसँगै शनिश्चरे बजार क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने विश्वास गरेका छन् ।

प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]