एक्शनमा मेयर : काममा कम्प्रमाइज नगर्न ठेकेदारलाई निर्देशन
बिर्तामोड । स्वास्थ्य उपचार र ससुरा बुबाको काजक्रियाको काम सकेर बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई विकास निर्माणको अनुगमनमा निस्कनु भएको छ । पूर्वाधार विकास तर्फ समयमै काम सक्ने योजनासहित उहाँले अनुगमनलाई प्राथमिकता दिनुभएको हो ।
निर्माण व्यवसायीहरुलाई समयमा काम सक्न निर्देशन दिदंै एक्शनमा उत्रिनु भएको मेयर प्रसाईले ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ ।
प्रेम संयोजक रमेश तिवारीका अनुसार आज निर्माणधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको अनुगमन गर्नुभएको छ । विश्व बैंक र शहरी विकास मन्त्रालयका प्रतिनिधि ईन्जिनियरसहित प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधिहरुको टोलीले हाल भईरहेको कामको प्रगति र अवस्थाको बारे बुझ्न अनुगमन गरेको हो ।
नगर प्रमुख प्रसाईले समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । काममा कुनै बाधा अप्ठ्यारो आइपरेमा जनप्रतिनिधिहरुले समाधान खोज्ने बताउँदै काममा कम्प्रमाइज नगर्न सूझाव दिनुभयो ।
विश्व बैंकको ५८ करोड ५४ लाख ३१ हजार दुई सय चौध रुपैयाँ लगानीमा ६.२५ किलोमिटर सडक स्तरोन्नतीको काम धमाधम भईरहेको छ । उक्त सडक बैशाख मसान्तसम्म सक्नुपर्ने सम्झौता रहेको छ ।