बैशाख ५, २०८२ शुक्रबार

सार्वजनिक हुन दुर्गा प्रसाईंले राखे सर्त

बिर्तामोड । फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन् । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा गरे ।

प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।

गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५(५ लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे । आफू बाहिर आएपछि उक्त रकम दिने उनले बताए ।

प्रसाईंको भनाइको सार यस्तो छ – 

खास गरेर धेरै मिडियामा मेरो विषयमा मिम बनाउने, मलाई जोकर बनाउने कुराहरु आए । मुर्गा प्रसाईं भनेर हिसाबकिताबको कुरा आए । हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो । यात्रा एउटा व्यक्तिले नै सुरु गर्ने हो ।

दुर्गा प्रसाईं अहिले ‘हरहर दुर्गा घरघर’ दुर्गा भएको छ । दुर्गा भनेको विचार हो । म भागेको होइन, जोगिएकोमात्र हो । म रहेँ भने यो अभियान र जनविद्रोह सफल हुन्छ । म रहिनँ भने यो जनविद्रोह नै समाप्त हुन्छ ।

१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५(५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु ।

म भागेको छैन । म जोगिएकोमात्र हो । त्यो दिन कस्ता कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन् । म भाग्न जन्मेको होइन । विवश भएर हो । प्रचण्ड, केपी ओली र अर्को राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर १५ गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ, दुर्गा प्रसाईंलाई पागल, जोकर बनाउनुपर्छ भनेर निर्णय गरेका रहेछन् । मबाट नेतृत्व हत्याउने कोसिस भइरहेको छ , तर म अरु ऊर्जा र उमंगका साथ, नयाँ योजनाका साथ आउँदैछु ।

मेरा वकिलहरु टंक दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानव अधिकारको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छु ।

आईजीपी साबलाई भन्न चाहन्छु, मलाई खोज्नुपर्दैन । तपाईंले मेरो सुरक्षाको जिम्मेवारी लिनुहुन्छ भने २४ घन्टाभित्र सार्वजनिक हुन्छु ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]