बैशाख ५, २०८२ शुक्रबार

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

तेह्रथुम, २७ चैत – उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ ।
आज यहाँको तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दे उहाँले तीनै तहका सरकार मिलेर जनताको अवस्था बदल्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकार कोशी प्रदेश पर्यटन वर्ष–२०८२ मूल आयोजक समितिको आयोजनामा समारोह सम्पन्न भएको हो । शुभारम्भ समारोहका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतका वर्षमा पर्यटनमा भएका कमीकमजोरीलाई सच्याएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी पर्यटकीय गन्तव्यको विकास गर्दै पर्यटनबाट राष्ट्रिय पुँजी निर्माण गर्नेसमेत उहाँले बताउनुभयो ।
गुराँसको राजधानी घोषणा गरिएको पर्यटकीय क्षेत्र (टिएमजे) तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटक मैत्री संरचना निर्माण गरिएका छन् । गुराँस फुल्ने याममा उक्त, क्षेत्रमा देश तथा विदेशबाटसमेत पर्यटकहरु आउने गर्छन् । विशेषगरी पूर्वी तराई तथा भारतको विहार, सिक्किम, दार्जिलिङ क्षेत्रबाट बर्सेनि हजाराँै पर्यटकहरु यहाँ आउने गर्छन् ।
सो समारोहलाई सम्बोधन गर्दै भारत विहारका लोकसभा सदस्य रामप्रित मण्डलले सुन्दर देश नेपालमा भारतीय पर्यटक पठाउन समन्वय गर्ने बताउनुभयो । उहाँले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको बताउँदै नेपालीहरुले भारतीय सेनामा कार्यरत रही भारतमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
टिएमजे क्षेत्र तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमानामा पर्छ । यहाँ २८ प्रजातिका गुराँस पाइन्छन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाले सो समारोहको समन्वय गरेको थियो । नगरप्रमुख अर्जुनबाबु माबुहाङले रित्तिरहेको पहाडलाई यस्ता पर्यटकीय क्षेत्रमा निर्माण गरिने संरचना र प्रचारप्रसारले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख माबोहाङकै परिकल्पनामा गुराँसे जङ्गलको बीचमा आरआर गार्डेन निर्माण गरिएको हो । त्यसैगरी रैथाने शैलीमा चोत्लुङ पार्क निर्माण गरिएको छ । जसले पर्यटकीय नगरी लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकीय चहलपहल बढेको छ ।
समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरु सीता गुरुङ, राजेन्द्र राईलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]