चैत्र १९, २०८१ मंगलबार

गरामनी क्याम्पसमा स्ववियु निर्वाचन : बिमलाको नेतृत्वमा अधिकांश छात्रा उम्मेदवार

बिर्तामोड । गरामनी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अधिकांश पदमा अनेरास्ववियुले छात्राहरुलाई उम्मेदवार बनाएको छ ।

झापाभरका क्याम्पसहरूमै सबैभन्दा धेरै छात्रा उम्मेदवार रहेको गरामनी क्याम्पसमा सभापति सहित सचिव, कोषाध्यक्ष तथा अधिकांश पदमा छात्राको उम्मेदवारी परेको छ । सबैजसो पदमा छात्राको उम्मेदवारी परेपछि चासोको विषय बनेको छ ।

क्याम्पसमा बिमला गिरीको नेतृत्वमा स्ववियु नेतृत्वका लागि अगाडि बढेको यो टिमले विद्यार्थी अधिकार, क्याम्पस पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धिलगायतका मुख्य मुद्दाहरू अघि सारेको छ । विशेषगरी खानेपानी, शौचालय, सेनिटरी प्याडको व्यवस्थापन, क्याम्पसलाई आफ्नै भवनमा सार्ने तथा नयाँ संकाय थप्ने पहल गर्ने प्रतिबद्धता उम्मेदवारहरूले गरेका छन् । साथै, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने उनीहरूको प्रमुख योजना रहेको सुनाए ।

स्ववियु अध्यक्ष पदमा बिमला गिरी उम्मेदवार बनेकी छन् । उनले क्याम्पस समृद्धि, विद्यार्थी सुविधा विस्तार तथा समावेशी नेतृत्वको महत्वबारे आफ्नो धारणा राख्दै विद्यार्थीको प्रतिनिधित्व गर्ने सशक्त नेतृत्व दिने प्रतिवद्धता जनाएकी छन् । सचिव पदमा सुनिता सग्रौला उम्मेदवार बनेकी छन् । उनले महिला विद्यार्थीका समस्याहरूलाई प्राथमिकतामा राखी उनीहरूको सहभागिता र अवसर वृद्धि गर्न आफू लागिपर्ने बताइन् ।

कोषाध्यक्ष पदमा अञ्जली मुर्मु उम्मेदवार बनेकी छन् । उनले क्याम्पसको आर्थिक पारदर्शिता, छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयन र विद्यार्थी सुविधाको व्यवस्थापनमा विशेष ध्यान दिने बताइन् ।
विद्यार्थी माझ उनीहरूको प्रतिबद्धता र योजना लोकप्रिय बनेको छ ।

प्रकाशित मिति : चैत्र १, २०८१ शुक्रबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]