स्ववियु निर्वाचन एक चर्चा
गगन ढकाल
ऋतु शिशिर भए पनि माहोलमा वसन्त खेलिरहेको छ । सबै नीतिहरुलाई नियन्त्रण र निर्देशन गर्ने राजनीतिको पालुवाका रुपमा हेरिएका विद्यार्थीहरुमा अहिले राजनीतिक माहोल छाएको छ । हाल विद्यार्थीहरुसँग बसेर गफ गर्ने हो भने उनीहरु विभिन्न माध्यमबाट चैत ५ मा आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारी गरिरहेका छन् । कोही उम्मेदवार बन्न प्रयत्नशील छन् त कोही विभिन्न संगठनका उम्मेदवारहरुलाई निर्वाचित गराउन लागिरहेका छन् ।
विद्यार्थीहरुमा यसरी राजनीतिक माहोल बन्नु र उनीहरुले राजनीतिको बारेमा चर्चा र बहस गर्नु सकारात्मक हो । आफ्नो हीतको रक्षा गर्ने संगठनको अथवा स्ववियु जस्ता संस्थाहरुको नेतृत्व गर्ने चाहना राख्नु समग्र मुलुक कै राजनीतिक भविष्यका निम्ति सुन्दर पक्ष हो । भोलीका कर्णधारका रुपमा हेरिएका विद्यार्थीहरुले आफ्नो संस्थामा नेतृत्व गरेर नेतृत्व कुशलता र अनुभव हासिल गर्द भविष्यमा अनुभवी र दक्ष राजनेताको उदय हुन सक्दछ । आफ्ना संस्थाबाट ज्ञान र अनुभव हासिल गरी युवाहरु भोलीको कर्णधार मात्र नबनेर आजको सशक्त दाबेदार पनि बन्न सक्दछन् ।
विद्यार्थीहरुले युग सुहाउँदो आफ्नो मुद्दा र कार्यदिशा निर्दिष्ट गर्न सके यसले समग्र विद्यार्थी आन्दोलन, प्राप्त उपलब्धी साथै मुलुककै शैक्षिक भविष्यका निम्ति युगान्तकारी भूमिका निर्वाह गर्ने थियो । तर, विडम्बना आजभोली सामाजिक सञ्जाल खोलेर हेर्ने हो भने विद्यार्थी नेताहरुका सञ्जालमा कुनै दक्षिण भारतीय सिनेमाका वीररस प्रदायक ध्वनी हालेर फोटोहरु हालेको देख्न सकिन्छ । उनीहरु नेताहरुसँग हात मिलाएका, संगठनका कार्यक्रमहरुमा सहभागी भएका लगायतका कामहरुको फोटोलाई भिडियो बनाउँदै पोस्ट गरिरहेका छन् ।
उनीहरु शैक्षिक मुद्दा र स्ववियुको आवश्यकताको विषय छाडेर आफूलाई ग्लामराइज गर्नमा रमाइरहेका छन् । यसले आउँदो चैत ५ मा निर्वाचित हुने पदाधिकारीले खासै उत्कृष्टता प्राप्त गर्ने सम्भावना क्षीण बनाइरहेको छ ।
जब–जब चुनाव लाग्छ तब–तब माहोल यति बिग्रन्छ कि त्यसको एउटा उदाहण हेरौं । त्यसका निम्ति अघिल्लो स्ववियु निर्वाचन र त्यसले पारेको प्रभावलाई सर्वप्रथम प्रस्तुत गर्न मुनासिब होला ।
वि.सं. २०७९ चैत्र ५ गते त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा पराजित भएका साथीहरुको मात्र हैन विजित साथीहरुको पनि गनथन कम छैन । अधिकांश साथीहरुको गन्थनको केन्द्र भने एकै छ । सबैले आर्थिक पक्षकै गन्थन गर्छन् । मेरो केही हारेका र जितेका दुवै खाले साथीहरुसँग संगत भएकाले उनीहरुले भोगेको दुखेसो देखेको र सुनेको छु ।
केही दिन अगाडि एक जना निर्वाचन जितेको साथीसँग भेट भयो । साथी डिप्रेस हुनुहुन्थ्यो । स्ववियु निर्वाचनमा खर्च गरेको पैसाको ऋण तिर्न नसेकाले साथी मानसिक समस्या मै पुगिसक्नु भएको थियो । उतिबेला स्ववियुताका अधिकांश विद्यार्थी संगठनहरुले आफ्नो पक्षमा परिणाम निकाल्न फर्जी विद्यार्थी भर्नामा पोइसोको खोलो बगाए । सम्भावित उम्मेद्वारहरुलाई चुनाव जित्नै भए पनि फर्जी एड्मिसनका निम्ति पैसाको जोहो गर्न परो । उनीहरुलाई त्यस कामका निम्ति माउ पार्टीको तीब्र दबाव थियो । कत्ति साथीहरु त पार्टीले पछि पैसा उपलब्ध गराउला अहिले जोहो गर्दै गर समेत भनेको कुरा गर्छन् ।
यससँगै चुनाव खर्च पनि सानो थिएन । संगठनहरुले क्यान्टिनमा चिया खाजादेखि गाडि भाडासम्मको खर्च महिना दिन अगाडि देखि नै तिर्न थालेका थिए । विद्यार्थी संगठनहरु चिया, खाजा र गाडि भाडामा विद्यार्थीको मत किन्न सकिन्छ भन्ने हीन विचारबाट प्रेरित थिए । उनीहरुलाई यस किसिमको विचार माउ पार्टीका नेता दाइहरुले दिरहेका थिए । निर्वाचन हार्ने जित्ने सबैले यो काम गरे । विविध विषयमा आर्थिक चलखेल गरेर मत परिणाम आफ्नो पक्षमा पार्ने प्रयत्न गरे । ऋणको भार बोके । हाल मानसिक तनावको बोजले छट्पटाई रहेका छन् ।
जसको परिणम स्वरुप देशभर शैक्षिक मुद्दाले कुनै स्थान पाएन । कहीँ कतै कसैले शैक्षिक विषयमा छलफल गरेको सुन्न पाइएन ।
बेलाबेला विद्यार्थी संगठनको औचित्यमाथि यसै प्रश्न उठेको हैन । आजको समयमा नेपालमा विद्यार्थी आन्दोलन माउ पार्टीका नेताहरुको सनकको आधारमा निर्देशित छ । यसले आफ्नो दिशा र गती दुवै भुलेको स्थिति छ । देशको आमुल परिर्वनका साथै शैक्षिक परिर्वतनका निम्ति विद्यार्थी आन्दोलन÷अभियानको अभाव खड्किरहेको छ ।
दलहरुले नागरिकहरुलाई समाजवादको नारामा अल्झाएर पुँजीवादलाई दिन प्रतिदिन मजबुत बनाउँदै गइरहेका छन् । आज उम्मेदवार हुनलाई अरवपती हुनपर्ने स्थिति छ । विद्यार्थी कै चुनावमा पनि खर्चको जोहो गर्न सक्ने, ग्लामर गर्न सक्ने उम्मेदवार बन्ने स्थिति छ ।
राजनीतिमा पोइसोको स्पेसबारे एक दृष्टान्त हेरौं । केही अगाडि कम्युनिष्ट पार्टीका युवा नेताहरु एक व्यापारीको तारिफ गर्दै बसिरहेका थिए । उनीहरुले आम नागरिकका विषयमा दिनहुँ बहस गर्ने समाजमा रहेका सबै किसिमका विभेद अन्त्य गरी समतामुलक समाज निमार्ण गर्ने स्पष्ट मुद्दा बोकेका नेताहरुलाई जलिल गर्दै ति व्यापारी नै सच्चा नेता भएको निष्कर्ष निकाल्न उद्देलित थिए । कारण के भने मठ मन्दिरमा चन्दा र विभिन्न कार्यक्रमहरुमा चन्दा दिन ति व्यापारी अग्रसर थिए । आज चन्दा दिएर भोलीको राजनीतिलाई मुठ्ठिमा लिन व्यापारीले चलाखीपूर्ण चन्दा कुटनीतिको प्रयोग गरिरहेका थिए ।
केही अग्रज दाईहरुको लहैलहैमा सानातिना नेता बनेका आजका युवा नेताहरु कति सजिलै सरल भन्दा सरल कुटनीति समेत बुझ्न सक्दैनन् । राजनीतिमा लागेका कैयन युवा नेताहरु मासु, रक्सी र चन्दाको कुटनीतिमा लट्ठिएको मैले दैनिक जसो देखेको छु ।
आधुनिक युगको राजनीतिमा चन्दा कुटनीतिको प्रभावलाई कम आक्न सक्ने स्थिति छैन । जसले चन्दा दिन सक्छ, जसले दुईचार ठाउँ खाजा खाएको बिल तिर्न सक्छ आज त्यही मान्छे राजनीतिको केन्द्र बन्दै गएका छन् । आगामी निर्वाचनका सम्भावित उम्मेद्वारहरुको नामको लिस्टबारे केही स्थानीय विश्लेषक तथा पत्रकारहरुसँग छलफल गर्दा उनीहरु क्षेत्र वा नगरको धनड्याहरुको नाम अग्रस्थानमा राख्छन् । कारण उनीहरुले चन्दा दिएको मान्छेहरुको संख्या धेरै र उनीहरुको ग्राउन छ । देशमा अब अर्को स्थानीय तथा आमनिर्वाचन आउने दिनहरु नजिकिदै गर्दा यो विषयमा बहस हुन जरुरी छ । के चन्दा दिनु भनेको आम नागरिकको भावना बुझ्नु हो ? समाज परिवर्तनको एजेण्डा बोक्नु हो ? वा समाजलाई विकसित बनाउने गुरुयोजना हो ? यदि केही होइन भने किन भिजन र दृष्टिकोणले भन्दा चन्दाले प्राथमिकता पाइरहेको छ ? कि चन्दाले समाजमा विद्यमान असमानता, अशिक्षा, गरिबी, बेरोजगारी तथा विभेदलाई अन्त्य गर्छ ?
विद्यार्थी राजनीतिको कुरा गर्दागर्दै विषयान्तर भएकोमा माफी माग्दै पुनः विद्यार्थी राजनीति तिरै फर्कन चाहन्छु ।
स्ववियु निर्वाचनको यो सरगर्मीमा पनि कुनै पनि विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दा उठाएको पाइँदैन । यसले विद्यार्थी राजनीतिले आफ्नो गति र मती दुवै गुमाएको कुरालाई संकेत गर्दछ । जसले यिनीहरुको आवश्यकता र औचित्यमाथि मात्र हैन स्ववियु संस्था माथि नै औचित्यको प्रश्न उठाउँछ ।
संगठनका नेताहरुको भाषणका आधारमा भन्ने हो भने सबै नेताहरु आज विश्वविद्यालयले दिएको डिग्रीले मान्छे रोजगार बन्न सक्ने स्थिति नरहेको कुरामा एकमत छन् । तर, अबको शिक्षा कस्तो हुनपर्छ भन्ने दृष्टिकोण अगाडि सार्न उनीहरुले कुनै तयारी गरेको देखिदैन । आउँदो निर्वाचनमा त्यस्ता दृष्टिकोणहरु अगाडि सारेर विद्यार्थी आन्दोलनमा नयाँ स्वास भर्नुपर्ने अवस्था रहेको छ ।
अब विद्यार्थी संगठनले आफ्नो मुद्दा निर्धारण गरी आफ्नो औचित्य पुष्टि गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । नभए हिजोका विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई मात्र भजाएर आजको विद्यार्थी संगठनहरु रिलाइबल हुन सक्दैनन् ।
विश्वविद्यालयमा नयाँ किसिमको शैक्षिक माहोल उठाउन अब निर्वाचित हुने स्ववियु पदाधिकारीको जिम्मेवारी हो । उनीहरुले प्राध्यापकहरुसँग भएको विषय विज्ञता र अनुभवलाई भरपुर रुपमा प्रयोग गर्ने गरी कार्यक्रमहरु तय गर्न जरुरी छ । जसले विद्यार्थीको भविष्यको साथसाथै विश्वविद्यालयको पनि आयआर्जनमा वृद्धि गरोस् ।
अब निर्वाचित हुने स्ववियुले क्याम्पसहरुमा विज्ञान विषयका विद्यार्थीहरुको क्षमता प्रवद्र्धन गर्न क्याम्पसहरुमा साइन्स वीक सेलिब्रेसन गर्दै विज्ञानका चमत्कारहरु प्रदर्शन गर्न सक्दछन् । यस किसिमको कार्यक्रममा जिल्लाभरीका कक्षा १२ मा विज्ञान पढाई हुने विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराउने हो भने यसले हाल स्नातक र स्नातकोतर पढ्दै गरेको विद्यार्थीको विज्ञापन गर्दै स्वयम् क्याम्पस कै पनि विज्ञापन हुन्छ । यस किसिमको कार्यक्रमले क्याम्पसमा विद्यार्थीको संख्या र गुणस्तर दुवैको वृद्धि गर्छ ।
यसै गरी वाणिज्यशास्त्रका विद्यार्थीहरुका निम्ति बैंकर्ससँगको सहकार्यमा बैंकिङ् प्रशासनको बारेमा तालिम दिन सकिन्छ । तालिम प्राप्त विद्यार्थीहरुलाई बैंकहरुमा इन्टर्न र रोजगारको अवस्था सिर्जना गराउन सकिन्छ । यस्तै समाज विज्ञानका विद्यार्थीहरुलाई क्याम्पसमा प्राध्यापकहरुको सहयोगमा उनीहरुलाई सामाजिक विषयको वैज्ञानिक अध्ययन र विश्लेषणका निम्ति तयार पार्न सकिन्छ । जसले गर्दा समाजमा विद्यमान सामाजिक समस्याको वस्तुगत अध्ययन गरी समाधानका पाटाहरु पहिल्याउन सकिन्छ ।
यस्तै थुप्रै कामहरु छन् जो स्ववियुले क्यापसहरुमा संचालन गर्न सक्छन् । जसले शैक्षिक मुद्दालाई पुर्नजीवन प्रदान गर्दै समग्र देशकै विकासमा टेवा पुग्नेछ ।