नेताहरुको सामुन्ने जनवादी नृत्य गर्दै बाह्रदशीको देउसीभैलो समापन
बिर्तामोड । नेताहरुको सामुन्ने जनवादी नृत्य प्रस्तुत गर्दै नेकपा एमाले बाह्रदशी गाउँकमिटीले आज देउसीभैलो कार्यक्रमको समापन गरेको छ । औपचारिक भाषण कार्यक्रममा मात्रै सिमित हुने पार्टीको कार्यक्रमलाई बाह्रदर्शीले अन्तिममा नेताहरुलाई नै नचाएर देउसीभैलोको समापन गरेको हो ।
गाउँकमिटीले कृषि प्रवद्र्धनका लागि सामुहिक खेती गर्न देउसीभैलोको आयोजना गरेको अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । तिहारमा संस्कृतिको संरक्षणसँगै सामुहिक खेतीका लागि सहयोग जुटाउन देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको थियो । देउसीबाट संकलित दक्षिणा सामुहिक खेतीका लागि खर्च गरिने अध्यक्ष सापकोटाको भनाई छ ।
तिहारमा नेकपा एमाले बाह्रदशी गाउँकमिटीले ७ वटा वडा रहेको पालिकामा ७ स्थानमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको थियो । पार्टीले अगुवा नेता जीवन खरेलको संयोजकत्वमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष सापकोटाले जानकारी दिए । सोही अवसरमा सातै वडालाई समन्वयका लागि धन्यवाद दिदैं प्रमाणपत्र प्रदान गरिएको छ ।
समापन कार्यक्रममै देउसीभैलो कार्यक्रममको आयव्यय सार्वजनिक गरिएको थियो । देउसी उपसमितिकी कोषाध्यक्ष पुजा जोगीले आयव्यय सार्वजनिक गरेकी हुन् । उनका अनुसार देउसीभैलीबाट २ लाख ६४ हजारभन्दा बढि बचत भएको छ ।
कार्यक्रममा देउसीभैलो कार्यक्रममा सहयोग गर्ने व्यक्ति र कलाकारहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । समापनको अवसरमा कलाकारहरुले मारुनी, जनवादी र तिहारका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य हरि राजवंशीले बाह्रदशी गाउँकमिटीको सक्रियताको प्रशंसा गरेका छन् । उनले देउसीका क्रममा जनताले एमालेप्रति अत्याधिक माया देखाएको बताए । राजवंशीले भने, ‘जनताको घरघरमा पुग्ने पार्टीले सधैं माया पाउछ । विभिन्न कार्यक्रमहरु लिएर जनताको बीचमा जानुपर्छ ।’
यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले गाउँकमिटीले मौलिक संस्कृतिको उजागर गरेकोमा धन्यवाद प्रकट गरेका छन् । उनले संस्कृतिको संरक्षण गर्दै पार्टीले चाडवाडमा जनताको बीचमा पुगेर देखाएको आत्मीयता प्रशंसायोग्य रहेको बताए । एमाले जनताको भरासो हो, गिरीले भने – हामीलाई जनताको साथ र माया छ ।