थ्रिलर कमेडी जनरामा ‘सिआईबी’ बन्ने घोषणा
एकराज प्रधान
राजन थापाको निर्माण तथा रोहन राईको लेखन-निर्देशनमा क्राइम इन बिर्तामोड ‘सिआईबी’ चलचित्र निर्माण हुने भएको छ । बिर्तामोडमा पत्रकार भेटघाट गर्दै निर्माण पक्षले सर्टमुभी सिआईबी बन्ने अनाउन्समेन्ट गरेको हो ।
बिबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेे यो फिल्म थ्रिलर कमेडी जनरामा बन्न लागेको निर्देशक राईले बताए । ‘दर्शकको अहिलेको चाहना कमेडी, थ्रिलर र एक्सन रहेको हामीले बुझेका छौँ’, उनले भने, ‘स्क्रिप्ट एकदमै राम्रो छ, हाम्रो टिमबाट एक्जुकेसनमा पनि र्फक्सन दिने गरी काम हुने विश्वास दिलाउन चाहन्छु ।’
पूर्वी नेपालमा हुँदै आएको आपराधिक घटना, त्यसको अनुसन्धान र समाधानको पाटोलाई चलचित्रमार्फत् देखाइने निर्माता थापाले बताए । आपराधिक गतिविधिलाई कम गर्ने उद्देश्यले लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाले यसअघि मिसन बिर्तामोड, क्राइम, डनको निर्माण गरिसकेका छन् । हरेक फिल्ममा उनी प्रहरीको भूमिकामा देखिँदै आएका छन् ।
चलचित्रका सहनिर्माता तीर्थ सिग्देलले मोफसलमा चलचित्र गतिविधि भए मात्र स्थानीय कलाकारले अवसर पाउने बताए । सहनिर्मातामा सिग्देल, चन्द्रकान्त ढकाल, सुरेन्द्र भण्डारी, डिपी रिजाल र उमेश चौधरी रहेका छन् भने कार्यकारी निर्माता पुजन प्रकाश इङनाम रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी राष्ट्रिय अनुसन्धान विभाग इलामका एसपी तुलसी प्रसाईँले अपराध न्यूनीकरणमा चलचित्र सहयोगी बन्नेमा विश्वास व्यक्त गरे । उनले मनोरञ्जनसँगै आमजनमानसमा सचेतना फैलाउन चलचित्र उत्कृष्ट माध्यम भएको बताए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बासु दुलाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चलचित्रमा मुख्य भूमिकामा नवीन रिमाल र रेजिना रणपहेली रहेका छन् । उनीहरु दुवै टिकटकमार्फत् चलचित्रमा डेब्यु गर्न लागेका हुन् । १० लाखको लागतमा निर्माण हुन लागेको यो फिल्म १ घण्टा ४५ मिनेटको बन्ने निर्माण टिमले जनाएको छ । चलचित्र आगामी दशैँअघि नै प्रदर्शनमा आउने थापाले जानकारी दिए ।
चलचित्रमा एसिस्टेन्ट डिरेक्टरको रुपमा विमल राई, देवानन्द राजवंशी रहेका छन् । सन्तोष रानामगरको सिनेमाटोग्राफी र सम्पादन रहने फिल्ममा सुदीपबाबु खवासले एक्सन डिरेक्सन गर्नेछन् ।