बैशाख १६, २०८२ मंगलबार

अक्सिजनको अभाव घट्दैछ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ ।

यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । देश विदेशको सहयोगका कारण अहिले संक्रमितहरुका लागि अक्सिजनको अभाव विस्तारै टर्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको यो जानकारीसँगै आगामी दिनमा कोभिड उपचार केही सहज हुने अपेक्षा गरिएको छ ।

कोभिड-१९ का कारण मङ्गलवारसम्म कोभिड संक्रमणमा परेका तीन लाख ५२ हजार ४१४ मानिस निको भएका छन् । निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्क बताउँछ । अहिलेसम्म पाँच हजार ४११ जनाको यही संक्रमणजन्य जटिलताबाट ज्यान गएको छ । नागरिकलाई आफ्ना परिवारका सदस्य अनि आफन्त गुमाउनु पर्दाको पीडाले दिन प्रतिदिन पिरोल्दै गएको छ ।

नेपालमा रहेका अस्पलात, स्वास्थ्य क्षेत्रका जनशक्ति र स्रोत साधनले नै धान्न नसक्ने गरी कोभिड(१९ को संक्रमण फैलिएपछि उपचारमा समेत निकै कठिनाई भएको देखिएको छ । आफ्ना नागरिकलाई कोभिडबाट बचाउन देशको स्रोत र साधानले नभ्याउने अवस्था भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगका लागि विश्व समुदायसँग आग्रह समेत गरेका छन् ।

कोभिड(१९ को दोस्रो लहरमा धेरै बिरामीलाई अक्सिजनको आवश्यकता पर्‍यो । तर पर्याप्त मात्रामा अक्सिजनको पूर्ति हुन नसकेपछि धेरैले ज्यान गुमाउनु पर्‍यो । चीन सरकारले अनुदानस्वरुप नेपाललाई प्रदान गरेको २० हजार अक्सिजन सिलिण्डर नेपाल वायुसेवा निगममार्फत् केही ल्याइएको छ भने केही तातोपानी नाकाहुँदै नेपाल आइपुगेका छन् ।

त्यस्तै खाडी मुलुकमा कार्यरत नेपालीहरुले सरकारलाई शनिबार ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । नेपालमा अक्सिजन सिलिन्डरको अभाव भएको थाहा पाएपछि खाडी मुलुक संयुक्त अरब इमिरेट्स, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपालीले रकम सङ्कलन गरेर नेपाललाई अक्सिजन सिलिन्डर पठाएका हुन् । देश तथा विदेशमा बस्ने नागरिकले पनि यो विपद्का बेला सक्दो प्रयास गरिरहेका छन् । यसबीचमा सर्वोच्च अदालतले पनि नागरिकको उपचामा कुनै कसर बाँकी नराख्न आदेश जारी गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]