कोभिड उपचार थप व्यवस्थित बनाउन मेची अस्पताललाई ९ करोड
विर्तामोड । अर्थ मन्त्रालयले मेची प्रादेशिक अस्पताल भद्रपुरको सेवा प्रवाहलाई थप व्यवस्थित गर्न ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोभिड महामारीमा संक्रमितकोे उपचारलाई सहज बनाउने सरकारले सहयोग गरेको हो ।
कोभिड उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा सो बजेट खर्च गरिने अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । यसअघि प्रदेश १ सरकारले समेत १ करोड उपलब्ध गराएको छ । धेरै जसो गरिव विपन्न नागरिक मेची अस्पताल उपचारका लागि जाने गर्छन् ।
कोभिडको उपचारमा सक्रिय मेची अस्पतालले भेन्टिलेटर , अक्सिजन प्लान्ट , अक्सिजन सिलिण्डर खरिद तथा निर्माण र सप्लाईमा खर्च गर्ने अध्यक्ष पोर्तेलले बताए । उनका अनुसार मंगलवार नै अस्पतालको बैठक बसेर अत्यावश्यक काम अघि बढाइने छ । अहिले अस्पतालमा २५ बेडको एचडीयू , ४ वटा भेन्टिलेटर, सञ्चालन भइरहेको छ । अस्पतालले कोभिड उपचारका लागि तत्कालै नयाँ संरचना निर्माण गर्ने र संक्रमितको उपचार नै अलग्गै गर्ने तयारी गरेको छ ।
अक्सिजनको अभाव भइरहेको बेला मेची प्रादेशिक अस्पतालले ३५ सिलिण्डर क्षमताको प्लान्ट राख्ने तयारी गरेको थियो । पोर्तेलले भने, अब नयाँ ठेक्का प्रक्रियाबाट दैनिक १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट बनाइने छ । अस्पतालमा थप २ थान भेन्टिलेटर समेत सञ्चालनको अन्तिम तयारीमा छ , अध्यक्ष पोर्तेलले भने– भेन्टिलेटर पनि खरिद गर्छौ ।
अर्थ मन्त्रालयले देशभरका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ । कोभिडलाई नै लक्षित गरेर बजेट निकाशा गरेको भएको हो । पूर्वमा मेची अस्पताल, विराटनगरको कोशी अस्पतालले थप बजेट पाएका छन् ।