झापामा उपचार नै मुख्य चुनौति, जेठदेखि कठोर निषेधाज्ञा
विर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जेठदेखि कठोर निषेधाज्ञा हुने बताएका छन् । सञ्चारकमीहरुसँग कुरा गर्दै उनले संक्रमण जोखिमलाई ख्याल गर्दै कठोर निषेधाज्ञा गर्नुको विकल्प नरहेको जानकारी दिए ।
झापाको वर्तमान अवस्था बारे जानकारी दिदैं उनले जिल्लामा मृत्यू र संक्रमण दर बढ्दै गएको बताए । जिल्लास्थित कोभिडको संक्रमण, नियन्त्रण, उपचार र समन्वयका बारेमा कुरा गर्दै प्रजिअ तिमिल्सिनाले मुख्य चुनौति उपचार भएको बताएका छन् । इलाम, पाँचथर र ताप्लेजुङ सहित अन्य जिल्लाबाट समेत उपचारका लागि झापा आउने क्रम बढिरहेको भन्दै उनले उपचार सेवा विस्तार गर्नैपर्ने देखिएको बताए ।
प्रजिअ तिमिल्सिनाले आइसोलेशन, एचडीयू, अक्सिजनको उपलब्धता समेत जानकारी गराएका छन् । जिल्लाका अस्पतालहरुमा भइरहेको कोभिड उपचार बारे जानकारी दिदंै नयाँ भेरियन्ट चुनौति भएकाले सबैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले निषेधाज्ञाको उल्लंघन बढ्दै गएकालेले त्यसको प्रभावकारी कायान्वयनमा कडाई गर्न आग्रह गरेका छन् ।