अनावश्यक हिडडुल गर्नेलाई होल्ड गर्दै सहजीकरण : एसपी भट्टराई
विर्तामोड । अत्यावश्यक काम बाहेक हिडडुल गर्ने सर्वसाधरणलाई चोक–चोकमा होल्ड गराउन थालिएको छ । होल्ड गराउँदै प्रहरीले पूर्ण निषेधाज्ञामा पालना गर्नुपर्ने नियमहरुका बारेमा बताउन थालेका छन् ।

शनिवार बिर्तामोडको मुक्ति क्षेत्रमा अनावश्यक हिडडुल गर्नेहरुलाई होल्ड गराउँदै सहजीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले महामारीबाट सुरक्षित रहन आफै सतर्क बन्नुपर्ने बताएका छन् । उनले अनावश्यक हिडडुल गर्दा संक्रमणको जोखिम बढ्ने भन्दै अत्यावश्यक काम बाहेक नहिड्न र हिड्नै परेमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

होल्डमा परेकाहरुलाई प्रहरी उपरीक्षक भट्टराईले पूर्ण निषेधाज्ञाको पालना नगर्नेहरुलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् । सहजीकरण गर्दै उनले निर्माणको क्षेत्रमा काम गर्ने मजदुरहरुलाई व्यवसायीले सोहि ठाउँमा बस्न व्यवस्था गर्नुपर्ने जानकारी दिए । उच्च जोखिम कै कारण पूर्ण निषेधाज्ञा लागु गरिएको बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । सबैको जीवन सुरक्षा गर्न कै लागि यो व्यवस्था लागु गरिएको भन्दै उनले निषेधाज्ञाको पालना गर्न अपील गरेका छन् ।

प्रहरीले जिल्लाका प्रायः सबै जसो चोकहरुमा चेकजाँच बढाएको छ । बिर्तामोडको मुक्ति चोकको चारै भागमा प्रहरीले कडा जाँच गरिरहेका छन् ।
विर्तामोडका डिएसपी सन्तोष आचार्य, झापा ट्राफिक प्रमुख निषेश चापागाईले समेत सर्वसाधरणलाई अनावश्यक हिडडुल नगर्न आग्रह गरेका छन् । उनीहरुले स्थानीय तहको पासमा हिड्न नपाइने जानकारी दिए ।