जिल्ला प्रशासनको सेवा आजदेखि बन्द
विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार मध्यरातदेखि सेमीलकडाउन घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार (आज) देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।
बढ्दो कोरोना सङ्क्रमणका कारण अत्यावश्यक बाहेकका सबै सेवा बैशाख २० देखि २६ गतेसम्मका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सूचना प्रकाशित गरेर नयाँ नागरिकता, प्रतिलिपी,नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण,संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता तथा राष्ट्रिय परिचयपत्रका काम रोकेको जनाएका हुन् ।
शान्ति सुरक्षासँग सम्बन्धित निवेदन तथा मुद्दा र अन्य अत्यावश्यकीय सिफारिसको काम सुचारु हुने सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरेर मात्रै कार्यालय आउन आग्रहसमेत गरेको छ ।