बैशाख १४, २०८२ आईतबार

होटल व्यवसायी निरौलाको हत्या कि आत्महत्या ?

विर्तामोड । गाउँले होटलका सञ्चालक तिलक निरौलाको नियोजित रुपमा हत्या भएको परिवारले दावी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निरौला पत्नी यशोदाले श्रीमानको आत्महत्या नभई हत्या नै भएको दावी गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानको पहिलो प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाई सकेको छ । प्रतिवेदनमा प्रहरीले हत्या भएको प्रमाण नभेटिएको स्पष्ट उल्लेख गरेको छ । प्रहरीका अनुसार प्रतिवेदनमा निरौलाको डाक्टरी रिपोट परिवारको दावी अनुरुप मिलेको छैन ।
चैत २० गते घरबाट हिडेका निरौलाको शव २२ गते चारआली जंगलमा पलेला परेको थियो । उनी अपहरणमा परेको परिवारको दावी छ । श्रीमति यशोदाले अपहरणपछि हत्या भएको बताउँदै आएकी छन् । तर, प्रहरीले अनुसन्धानमा अपहरण र हत्याको कुनै प्रमाण फेला नपरेको जनाएको छ । एक अनुसन्धान अधिकृत भन्छन्, शंका लागेर समातिएका व्यक्तिको मोवाइल ट्रयाक गर्दा पनि नजिक देखिएनन् । तर, निरौलाको पाइन्टमा भेटिएको चिटमा लेखिएका कुराहरुले उनीहरुलाई दोषी देखाएको छ । चिटमा उनीहरु ( पक्राउ परेका व्यक्ति ) कै कारण आफुले यो निर्णय लिएको भन्ने आसय खुलेको छ, प्रहरीले भने । आत्महत्याका लागि उनीहरुले दुरुत्साहन गरेको अनुसन्धानबाट खुलेको छ । चिटमा १२ जनाभन्दा बढिको नाम उल्लेख भएको र व्यवहारिक विषयहरु लेखिएको प्रहरीको भनाई छ ।

पत्रकार सम्मेलन गरेर परिवारले घटनालाई प्रहरीले आत्महत्या बनाएको भन्दै थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडित परिवारले न्यायका लागि आन्दोलन गर्ने बताएका छन् । मृतक निरौलाकी श्रीमती यशोदाले नियोजित ढंगले श्रीमानको हत्या भएको र हत्यामा संलग्न भएको आरोपमा हेटौडा घर भई झापाको अर्जुनधारा बस्दै आएका नारायण खड्काविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीले खड्का सहित भरत दंगाललाई पक्राउ गरिसकेको छ । खड्का र दंगाल दुवैसँग निरौलाको व्यापारीक साझेदारी भएको अनुसन्धानबाट खुलेको छ ।

निरौलाको गोजीमा भेटिएको चिठीका आधारमा मात्रै प्रहरीले अनुसन्धान गरेको भन्दै परिवारले गुनासो व्यक्त गरेका छन् । यता, प्रहरीले निरौलाको फरेन्सिक र भिसेरा समेत जाँच गरिसकेको बताएका छन् । दुवै जाँचको नतिजाले हत्या नभई आत्महत्या गरेको बुझिन्छ, प्रहरीले भने । हत्या भएको परिवारको दावी छ भन्ने जिज्ञासामा प्रहरीले भने, रिपोटले जे देखाउँछ हामीले त्यहि भन्ने हो । हामी हत्यालाई आत्महत्या, आत्महत्यालाई हत्या भन्न सक्दैनौं ।
छोरी निशाले न्याय नपाए पीडित परिवार अनसनमा बस्ने बताएकी छन् । निरौलाको आमाले दोषीलाई कारवाहीको दायरामा ल्याएर न्याय दिन माग गरेकी छन् ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]