झापा जिल्लामा हाइअलर्ट : खतरा भए मोवाइलमा म्यासेज
बिर्तामोड । सक्रिय मनसुनका कारण क्षति हुन नदिन झापा जिल्लाको सुरक्षा फोर्सलाई हाइअलर्टमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारीका माधव प्रसाद पोखरेलका अनुसार संभावित जोखिम कम गर्न सुरक्षा फोर्सलाई हाइअलर्ट राखिएको हो ।
झापाको दक्षिण क्षेत्रमा बाढि र उत्तरी क्षेत्रमा कटानको जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी पोखरेलले जानकारी दिएका छन् ।
जिल्लाको ठुलो नदी कनकाईमा पानीको बहाव अहिलेसम्म खतरामा नरहेको पोखरेलले जानकारी दिए । उनले विपत्को जोखिम अध्ययन हुनासाथ जिल्लावासी र प्रभावित क्षेत्रमा तत्काल नागरिकलाई जानकारी गराउने व्यवस्था गरिएको बताए । मोवाइलमा एसएमएस गरेर प्रभावित क्षेत्रका नागरिकलाई जानकारी दिइनेछ, उनले भने – बाढि, पहिरो र कटानबाट सुरक्षामा समस्या आइपरे स्वयम् सतर्क समेत हुनुपर्छ ।
झापामा विपत् व्यवस्थापनको लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । सुरक्षा सहित अन्य तयारी गरिएको छ । नौ वटा क्लस्टर बनाएर जिल्ला विपद् व्यवस्थापन समितिले काम गरिरहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगायत विभिन्न निकाय खोज तथा उद्धार, राहत वितरणको कामको लागि तयारी रहेको सूचना अधिकारी पोखरेलले जानकारी दिएका छन् ।