मेची पुल जोड्ने भारततर्फको सडक बग्यो, आवतजावत समस्या
भद्रपुर । भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाउँदा आवतजावतमा फेरि समस्या उत्पन्न भएको छ ।

अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले शुक्रबार बिहान पुल जोड्ने ग्राभेल सडक बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको हो । मेचीको बाढीले एसएसबीले दशगजानजिकै राखिएको अस्थायी पोस्टसमेत डुबाएको छ । बाढीको पानी सडकमाथिबाटै बगेको थियो ।
सडकमा पानी जमेपछि शुक्रबार दिनभर आवतजावतमा समस्या भयो । मोटरसाइकल र हलुका चार चक्के सवारीसाधन अवरुद्ध भएको छ । पानीले ग्राभेल सडकको गिट्टी बालुवा बगाउँदा सडक ठाउँ ठाउँमा भत्किएको छ । मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा स्थानीयको सुविधाका लागि किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोडन एउटा कल्भर्ट निर्माण गरी बालुवा र माटोसहितको सय मिटर ग्राभेल सडक बनाएको थियो । भारतले अस्थायी सडक बनाएपछि त्यो सडकलाई जोडन भद्रपुर नगरपालिकाले समेत ह्युम पाइप राखेर सय मिटर सडक निर्माण गरिदिए ।
दुवै देशका स्थानीय निकायले वर्षालाई मध्यनजर गरी ग्राभेल सडक बनाएका हुन् । तर, शुक्रवार मेची नदीमा आएको बाढीले त्यो सडक पनि बगाइ दिएको छ । ‘पुलको पारी पट्टी नदीको पानीले सडक बगाएको छ’, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले भने, ‘शुक्रवार मोटरसाइकल र हलुका सवारीसाधन ठप्प भयो, सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भयो ।’ ‘बिहान पानीको सतह बढेको थियो’, उनले भने, ‘अहिले पानी घट्दै गइरहेको छ, तर सवारीसाधन चलेको छैन ।’
५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १७ गते गरेका थिए । सडक निकास विनाको पुलको उद्घाटन भए पनि हलुका चार चक्के सवारी, मोटरसाइकल, साइकल र पैदलयात्रीले मात्र पुलबाट आवतजावत गरिरहेका छन् ।