सर्लाही घटनामा सहमति भइसकेपछि संसद् अवरोध किन ? – योगेश भट्टराई
काठमाडौं । नेकपा सांसद योगेश भट्टराईले सबै कुरा सहमतिमा निर्णय गरिसकेको अवस्था र स्थिति सामान्य भइसकेको अवस्थामा संसद अवरोध गर्नुको औचित्यबारे प्रश्न उठाएका छन् ।

सर्लाहीको ईश्वरपुर–१३ का बालक अमित राय यादवको असार १४ गते बाँके खोलाको भँगालोमा परी मृत्यु भएको र सरोज नारायण सिंह महतोको असार १५ गते प्रहरीको गोली लागी मृत्यु भएको थियो । उक्त विषयमा एक साताअघि नै सहमति भएको भन्दै पत्र सार्वजनिक गर्दै उनले ट्विटरमा लेखेमा छन्, ’संसद अवरोध गर्नुको औचित्य के हो ? बैठकका निर्णय साक्षी छन् ।’
असार १८ गते बसेको सर्वपक्षीय बैठकमा मृतक रायको परिवारलाई क्षतिपूर्ति बापत ५ लाख उपलब्ध गराउने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र मधेसवादी दल राजपाबीच सहमति भएको थियो । दोषीलाई कारबाहीको सिफारिस गर्ने, बाँके खोलामा भएका खाल्डा पुर्ने सहमति भएको थियो ।
सहमतिमा ईश्वरपुर नगरपालिका वडा नम्बर १३ र १४ का वडाध्यक्ष क्रमशः रामकरण महतो र रामपुकार महतोले पनि हस्ताक्षर गरेका छन् । पूर्वमन्त्री समेत रहेका शम्भुलाल श्रेष्ठ सहमतिपत्रमा संयोजकका रुपमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा कांग्रेस प्रतिनिधि नरेन्द्रकुमार महतो छन् भने राजपाका प्रतिनिधि नागेश्वर महतो छन् ।
घटना छानबिनका लागि कांग्रेस र राजपाले संसदीय समितिको माग गरिरहेका छन् । मंगलबारको बैठक अवरुद्ध भएसँगै बुधबार बिहान कार्यव्यवस्था समितिको बैठकमा विपक्षी दलका नेताहरूले संसदीय समितिको माग गरेका थिए ।
संसदीय समिति बनाउन सत्तापक्ष तयार भएन । प्रतिपक्ष दलका नेताहरूले नाराबाजी गदैगर्दा सभामुख कृष्ण बहादुर महराले संसदको कारबाही जारी राखेका थिए ।