झापामा समातिए १३ जना मोटरसाइकल चोर : टार्गेटमा महंगा मोटरसाइकल
बिर्तामोड । मोटरसाइकल चोरीका घटना बढेपछि अपरेशन शुरु गरेको झापा प्रहरीले १९ वटा चोरीको मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका चोर र सहयोगी युवा उमेरका छन् । उनीहरुले चोरी गरेका सबैजसो मोटरसाइकल महंगा मुल्यका छन् । विशेष गरी जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक बजार क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका बारेमा उजुरी पर्न थालेपछि झापा प्रहरीले गिरोह पक्राउ गर्न विशेष अभियान सुरु गरेको थियो ।
झापा प्रहरीले यही महिनाभित्रै चोरीको १९ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १३ जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गएिको छ ।
गौरादह नगरपालिका २ बस्ने १९ वर्षीय विजय चौधरी, सोही नगरपालिका ८ बस्ने २२ वर्षीय रोविन राजवंशी, बाह्दशी गाउँपालिका ७ बस्ने १९ वर्षीय विनोद मुर्मु, सोही गाउँपालिका ६ बस्ने १९ वर्षीय करण चौधरी, कमल गाउँपालिका ४ बस्ने केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका १ बस्ने किरण भण्डारी रहेका छन् ।
त्यसैगरी, इलाम चुलाचुली गाउँपालिका २ बस्ने सन्त श्रेष्ठ, शिवसताक्षी ५ बस्ने रमेश ताजपुरीया, सोही ठाउँका प्रेमबहादुर रिमाल, गौरादह नगरपालिका बस्ने सन्त लिम्बु, सोही ठाउँका प्रकाश न्यौपाने, दमक नगरपालिका ४ बस्ने बसन राई र कमल गाउँपालिका १ बस्ने रामु दमाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनालीले जानकारी दिए ।
अधिकांश मोटरसाइकल बजाज कम्पनीको २२० सिसीको पल्सर रहेको जनाइएको छ । उनीहरूले चोरी गरिएको मोटरसाइकल पार्किङ स्थलबाट चोर्ने र नम्बर प्लेट परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मे ९ प ४५५५, को १० प २६५१, मे ८ प ९३८३, मे ११ प १०१२, मे ५ प ९३९१, को ३१ प ९७७७ र मे ७ प ७६६३ मोटरसाइकलको नम्बर खुलेको डिएपसी श्रेष्ठले बताए ।
‘नम्बर खुलेको मोटरसाइकल कानुन प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाउँछौ’, उनले भने, ‘धनीहरू कोही सम्पर्क आइसकेका छन् भने, कोही आउन बाँकी छ ।’